शुक्रबार, जेठ ३, २०८२

चीनका अस्पतालहरु कोरोना संक्रमितले भरिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

नेपालखोज २०७९ पुष ७ गते १२:१०

काठमाडौं । विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड-१९ को नयाँ लहरको बीचमा बिरामीले अस्पतालहरू भरिएको बताएको छ । डब्ल्यूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम रिपोर्ट गर्दै आए पनि सघन उपचार कक्ष (आईसीयू) भरिएको बताए ।

चीनको तथ्यांकले बुधवार कोभिडबाट कसैको मृत्यु नभएको देखाएको छ, तर महामारीको वास्तविक प्रभावमा शंका छ। चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।

सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ। तर, यो नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई हेरेर सरकारले दुई साताअघि केही नियमहरू पनि खुकुलो पारेको छ ।

त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।
यो अवस्थाका बाबजुद चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । डा. रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रह गरेका छन् । उनले भने, ‘चीनमा आईसीयूको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आईसीयू भरिँदै गएको छ । -बिबिसी

प्रतिक्रिया