आइतबार, मंसिर २८, २०८२

अमेरिकामा हिमपातका कारण ३८ जनाको मृत्यु

नेपालखोज २०७९ पुष ११ गते ८:५७

काठमाडाैं । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानाडामा अहिलेसम्म कम्तिमा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त आँधीका कारण अमेरिकामा ३४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ ।

यसबीच क्यानाडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस चिप्लिएर चार जनाको मृत्यु भएको छ । उत्तर अमेरिका विगत केही दिनदेखि यस आँधीको चपेटामा परेको छ भने प्रारम्भिक ब्यबधानपछि विद्युत आपूर्ति सामान्य भएको देखिन्छ । समाचार एजेन्सी एपीका अनुसार आइतबार दिउँसोसम्म मात्रै दुई लाख मानिसले विद्युत आपूर्ति पाएका छैनन् । यसअघि यो संख्या १७ लाख थियो । यो आँधीका कारण हजारौं उडान रद्द भएका छन् ।

जसका कारण क्रिसमसको अवसरमा ठूलो संख्यामा मानिसहरु आफ्नो परिवारसम्म पुग्न सकेनन् । यो हिमपातले ढाकेको विशाल क्षेत्र अभूतपूर्व छ। यसको प्रभाव उत्तरी अमेरिकामा क्यानाडादेखि सुदूर दक्षिणको अमेरिकी प्रान्त टेक्साससम्म देखिएको छ ।

गत आइतबार, करिब ५५ मिलियन अमेरिकी नागरिकलाई हिउँको हावासँग सम्बन्धित चेतावनी जारी गरिएको थियो । न्यूयोर्क राज्यका गभर्नर क्याथी होचुलले यसलाई बफेलो सहरको इतिहासमा सबैभन्दा विनाशकारी आँधी भएको बताएका छन्। न्यूयोर्क राज्यको एरी काउन्टीका कार्यकारी मार्क पोलोनकार्जले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार एक व्यक्ति आफ्नो कारमै मृत फेला परेकाछन ।

प्रतिक्रिया