मिर्गौलापीडित पत्रकार पाल्पालीलाई सहयोगकालागि आग्रह
भक्तपुर । औषधि र खाद्यान्नको अभावले मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक सङ्कटमा परेको छ । शुरुदेखि नै आर्थिक सङ्कट झेल्दै आएका पाल्पालीको परिवारलाई कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले थप समस्यामा पारेको हो ।
यसअघि दैनिक काममा गएर जसोतसो समस्या टार्दै आएकी पाल्पालीका पत्नी रेणुका भट्टराई अहिले काममासमेत जान नपाउँदा पत्रकार पाल्पालीको उपचारमा आर्थिक सङ्कट पर्नुका साथै घरमा खाद्यान्नको समस्या भएको बताउँछिन्। उनले भने, “शुरुदेखि नै समस्या झेल्दै आएको सबैलाई थाहै छ । अहिले त लकडाउनले थप समस्या पारेको छ । श्रीमान्को लागि दैनिक आवश्यक पर्ने औषधिसमेत छैन । न खानेकुरा नै छ । एकातिर श्रीमान्लाई औषधि खुवाउन नपाउनुको पीडा, अर्को खाद्यान्न नहुँदाको पीडा । त्यसमाथि पनि आफँै मधुमेहको रोगी भइयो । श्रीमान्लाई कसरी बचाउँनुजस्तो भयो ।”
लकडाउन अघिसम्म आफूले जसोतसो पाल्पालीको उपचार र घर खर्च जुटाउँदै आए पनि लकडाउन लम्बिएपछि औषधि पनि सकिएको र खर्च पनि सकिएको सकिएको उनको भनाइ छ । उनले भनिन्, “हामी निकै सङ्कटमा परेका छौँ । कसरी औषधि ल्याउने, कसरी बालबच्चा पाल्ने, पढाउने, पत्रकार तथा साहित्यकार पाल्पालीको जीवनरक्षाका लागि सहयोग गरिदिन म आह्वान गर्दछु ।”
नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादकसमेत रहेका पत्रकार तथा साहित्यकार पाल्पाली विसं २०७० मा दुवै मिर्गौला फेल भएपछि थलिएका छन् । काठमाडौँको महाराजगञ्जमा उपचार सम्भव नभएपछि उनलाई भारत लगेर मेदान्त अस्पतालमा उपचार गराउँदा नै मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको थियो । आफूले मिर्गौला दिन तयार भए पनि मधुमेह भएको थाहा पाएपछि नमिलेको पाल्पालीकी पत्नी भट्टराई बताउँछिन् ।
एक छोरी र एक छोराका पिता ४५ वर्षीय पाल्पालीको पुख्र्यौली घर पाल्पाको विकट सोमादी–२ छहरा भए पनि अध्ययनको सिलसिलमा काठमाडौँ आएर सञ्चारकर्मी तथा साहित्यकार काभ्रेकी भट्टराईसँग विवाह गरेका थिए। जस्ताकै टहराको एउटा कोठाको खाट नै अहिले पत्रकार पाल्पालीको संसार भएको छ । मिर्गौलाको उपचार गर्दागर्दै कम्मरको हड्डी खिइएपछि चिकित्सकले पाल्पालीको कम्मरको हड्डीसमेत प्रत्यारोपण गर्नुपर्ने बताएपछि थप समस्या रहेको श्रीमती भट्टराई बताउँछिन् ।
प्रतिक्रिया