बिहीबार, जेठ २, २०८२

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको मृत्यु

नेपालखोज २०७९ पुष २२ गते १९:४१

काठमाडाैं । भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका बासिन्दा भएको बताइएको छ ।

लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी (एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजी) कानपुरले जारी गरेको तथ्याङ्कअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए । तीमध्ये अस्पतालमा सात जनाको उपचारकै क्रममा मृत्यु भएको र १५ जना अस्पताल नआइपुग्दै मृत घोषणा गरिएको थियो ।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताइएको छ । ‘कानपुरमा व्यापक शीतलहर बढेको छ जसका कारण हृदय रोगबाट पीडित मानिसहरूको सङ्ख्या ह्वात्तै बढेको छ ,’ एलपीएस इन्स्टिच्युट अफ कार्डियोलोजीका निर्देशक विनय कृष्णले बताएका छन् ।

कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह दिएका छन्। उत्तर भारत विगत केही दिनदेखि शीतलहरको चपेटामा परेको छ । उत्तरी राज्यहरूमा तापक्रममा उल्लेख्य गिरावट आएको छ ।

प्रतिक्रिया