चिन-अमेरिका द्वन्द्व :आज चिनले के भन्यो ?

संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन् । अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका विषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् । जसले ताइवानप्रति चिनियाँ नेताको महत्वाकांक्षालाई कम आँकलन गर्न नहुने बताए तापनि रुसको कार्यसम्पादनबाट उनी संकुचित छन्।
‘ताइवान चीनको एक अविभाज्य भाग हो। ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन् । प्रवक्ता माओले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका छन् र तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् । उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् ।
बेलुन प्रकरण चीनलाई बदनाम गर्ने बहाना :
बेइजिङले बेलुन घटना चीनलाई बदनाम गर्ने बहानाका रूपमा प्रयोग गरिएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ताले शनिबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको चीन भ्रमण स्थगन भएको घोषणाप्रति टिप्पणी गर्दै त्यो चीनलाई बदनाम गर्ने चाल भएको बताएका छन् । अमेरिकी सञ्चारमाध्यममा विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै विदेशमन्त्रीको योजनाबद्ध चीन भ्रमण चिनियाँ बेलुनका कारण स्थगन भएको जनाइएको छ ।
अमेरिकालगायत पश्चिमा मुलुकका सञ्चारमाध्यमले अमेरिकाको जासुसी गर्न चीनले बेलुन अमेरिकी आकाशमा पठाएको’ समाचार शुक्रबार प्रकाशन–प्रसारण गरेका थिए । वायुको वेग र बहावका कारण अनपेक्षितरूपमा मानवरहित वायुयान अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यससम्बन्धमा अमेरिकी पक्षलाई जानकारी गराएको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । मौसम विज्ञानसम्बन्धी सूचना सङ्कलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको उनले स्पष्ट गरेका छन् ।
चीनले सधैँ अन्तर्राष्ट्रिय कानुनको अक्षरसः पालना गरेको, कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सधैँ सम्मान गरेको, कुनै पनि देशको भू–भाग वा हवाई क्षेत्रको उल्लङ्घन नगरेको र उल्लङ्घन गर्ने कुनै नियत नभएको विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट गरेका छन् । ‘संयुक्त राज्य अमेरिकाका केही राजनीतिज्ञ र सञ्चारमाध्यमले चीनलाई बदनाम गर्न यसलाई प्रचार गरेका छन्, चिनियाँ पक्ष यसको विरोध गर्दछ,’ सबै तहमा सम्पर्क र समन्वय कायम गर्ने चीन र अमेरिकी राष्ट्रपतिबीच पछिल्लोपटक बालीमा भएको सहमति स्मरण गराउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।
दुवै पक्षले पारस्परिक सम्बन्धलाई सुव्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उनले केही अप्रत्याशित परिस्थितिलाई ठण्डा र विवेकपूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । बेइजिङ र वासिङटनले अमेरिकी विदेशमन्त्रीको चीन भ्रमणबारे औपचारिक घोषणा नै नगरेको परिप्रेक्ष्यमा अमेरिकाले गरेको पछिल्लो घोषणा अमेरिकामा निर्भर रहेको र त्यसलाई चीनले सम्मान गर्ने विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
चीनको धार्मिक नीति बारे अमेरिकी विदेशमन्त्रीको टिप्पणीको चीनद्वारा अलोचना :
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन् ।
उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू उचालेर चीनको विकासलाई रोक्नले प्रयास नगर्न आग्रह गरेकी छन् । सञ्चार माध्यममा जनाइए अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता शिखर सम्मेलनमा आफ्नो टिप्पणीमा गत नोभेम्बरमा अमेरिकाले चीनलगायत थुप्रै देशहरूलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घन गरेको भन्दै ‘विशेष चिन्ताका देशहरू’ भनेर उल्लेख गरेका थिए ।
उनले सो टिप्पणीमा मुख्य रूपमा मुस्लिम उइघुर समुदाय विरुद्ध नरसंहार चलाइएको भनेर चीनको धार्मिक नीतिको व्यापक आलोचना गरेका थिए । प्रवक्ता मओले ती टिप्पणीहरू आधारभूत तथ्यहरूको विपरीत र वैचारिक पूर्वाग्रहका आधारमा गरिएको बताएकी छन् । तिनीहरूले जानाजानी चीनको धार्मिक नीतिलाई नकारात्मकरूपमा चित्रण गर्छन् र चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने प्रयास गर्छन्, चिनियाँ पक्ष यसको कडा विरोध गर्दछ, प्रवक्ता माओले भनिन् ।
माओले चिनियाँ सरकारले कानुन बमोजिम नागरिकको धार्मिक आस्थाको स्वतन्त्रताको रक्षा गर्ने पनि बताएकी छन् । चीनमा झण्डै २० करोड जनसङ्ख्या धर्ममा आस्था राख्नेहरू छन् । त्यसैगरी तीन लाख ८० हजार भन्दा बढी धर्मगुरुहरू र करिब पाँच हजार ५०० धार्मिक समूहहरू सक्रिय छन् । त्यसैगरी एक लाख ४० लाख भन्दा बढी पूजास्थलहरू धार्मिक गतिविधिका लागि दर्ता भएका छन् । जसमा सिनजियाङमा मात्र २४ हजार मस्जिदहरू छन्। तर संयुक्त राज्य अमेरिकाको यस विषयलाई हेर्ने दृष्टिकोण एकदम फरक, पूर्वाग्रही र नकारात्मक छ, माओले भनिन् ।
यसै बीच प्रवक्ता माओले ७५ प्रतिशत अमेरिकी मुस्लिमहरूले अमेरिकी समाजमा मुस्लिमहरूमाथि गम्भीर भेदभाव रहेको विश्वास गर्छन् त्यसैले अमेरिका यस मुद्दामा चीनलाई औंला उठाउने अवस्थामा ररहेको टिप्पणि गरेकी छन् । त्यस्तै अर्को प्रसङ्गमा माओले भनिन् ‘चीनले ‘नरसंहार गरेको’ आरोप अमेरिकी पक्षले प्रचार गरेको घोर झूटबाहेक केही होइन यसमा कुनै सत्यता छैन।’ यहाँको उइघुर जनसङ्ख्या २२ लाखबाट हाल लगभग एक करोड २० लाख पुगेको छ ।
उनीहरूको औसत आयु ३० बाट बढेर ७४ वर्ष पुगेको छ । यी तथ्यहरूका अतिरिक्त, संयुक्त राज्य अमेरिकाले सिन्जियाङको बारेमा चीनलाई नियन्त्रण गर्न र चीनलाई तल पार्नका लागि केवल बहाना खोजेको मात्र हो । यद्यपि अन्तरराष्ट्रिय समुदायले यो स्पष्ट रूपमा देख्न सक्छ, माओले भनिन् । ‘हामी अमेरिकालाई वास्तविक तथ्यको सम्मान गर्न र तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू प्रयोग गरेर चीनका विरुद्ध हस्तक्षेप गर्न बन्द गर्न आग्रह गर्दछौं।’ प्रवक्ताले भनिन् ।
प्रतिक्रिया