बिहीबार, जेठ २, २०८२

के किम जोङकी छोरी हुने छिन् उनको उत्तराधिकारी ?

नेपालखोज २०७९ फागुन १ गते १२:४६

हालै किम जोङ आफ्नी १२ वर्षीया छोरी किम जुसँग देखा परेका थिए । सेनाका वरिष्ठ अधिकारीहरूले किम जुको अगाडि शिर झुकाएको देखियो । यस्तो अवस्थामा किम जोङले छोरीलाई उत्तराधिकारीको रुपमा रोज्न सक्ने अनुमान गरिएको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उन यसअघि पनि छोरीसँग देखिएका थिए । नोभेम्बर २०२२ मा मिसाइल प्रक्षेपणको अवसरमा छोरीको हात समातेर हिडेको उनको तस्बिर बाहिर आयो । उनकी जेठी छोरी किम जु एले पनि उनीसँगै सैनिकको अभिवादन स्वीकार गरेको देखियो । समाचार अनुसार किम जू १२ वर्षकी भइन् । उनी किमका चार सन्तानमध्ये माईली हुन् । यस बाहेक किमका दुई छोरा र अर्कि छोरी पनि छन् ।


किम जोङ उनसँग किम जुको सार्वजनिक उपस्थितिबाट धेरै अर्थ निकालिएको थियो। दक्षिण कोरियाको गुप्तचर विभागले यसलाई किमले आफ्नो भावी पुस्ताले नै उत्तर कोरियाको शक्तिमाथि नियन्त्रण कायम राख्ने संकेत दिएको भनी अर्थ्याएको छ अर्थात् किमका सन्तान पनि तानाशाही पारिवारिक परम्पराको हिस्सा बन्नेछन् । जनवरी २०२३ मा दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले देशका वरिष्ठ राजनीतिज्ञहरूलाई दिएको एक ब्रीफिंगमा किम जोङ-उनले आफ्नी छोरीलाई सार्वजनिक स्थानमा लिएर आफ्नो राजनीतिक उत्तराधिकारी छान्ने स्पष्ट संकेत दिइरहेको बताईएको थियो । यद्यपि कतिपय विज्ञहरूले किम जुको उत्तराधिकारी बन्ने सम्भावनाका बारेमा कुनै निष्कर्षमा पुग्न नसकिने बताएका छन्। यो तर्कका पछाडि उत्तर कोरियाको पुरुष प्रधान समाज छ । यस्तो परिवेशमा किम जोङले पछि छोरीलाई उत्तराधिकारी बनाउने निर्णय गरे भने देशको सेना र राजनीतिमा ठूला पदमा बसेका व्यक्तिहरूले विरोध गर्न सक्छन् ।

किमको नियत स्पष्ट छैन

विश्लेषकहरू भन्छन् किमको नियत थाहा नपाईने किशिमको छ। उत्तर कोरियालि मिडियाका तस्बिरहरूमा देशका वरिष्ठ अधिकारीहरूले किम जुको अगाडि शिर निहुराएको देखिन्छ साथै, त्यहाँको मिडियाले पनि किम जुलाई आफ्नो बुबाको सबैभन्दा प्यारो सन्तानको रूपमा वर्णन गरेका छन । ध्यान दिनु पर्ने अर्को कुरा के हो भने किम जुका अन्य भाइबहिनीहरूका बारेमा धेरै कम जानकारी उपलब्ध छ । डिसेम्बर २०११ मा आफ्नो बुबाको अचानक मृत्यु भए पछि किम जोंगले उनको स्थान लिएका हुन । त्यसअघि धेरै वर्षसम्म उनलाई बुबाको राजनीतिक उत्तराधिकारी मानिएको थिएन् । लामो समयदेखि किम जोङका जेठा दाइ किम जोङ नामले सत्ता पाउने विश्वास गरिदै आएको थियो । यद्यपि सन् २००१ मा किम जोङ नाम टोकियोको विमानस्थलमा पक्राउ परे । उनी नक्कली राहदानीमा डोमिनिकन रिपब्लिकको यात्रा गर्दै थिए र डिज्नील्याण्ड भ्रमण गर्ने योजनामा ​​थिए । रिपोर्ट अनुसार उनका बुबा किम जोङ इल यो घटनाबाट निकै क्रोधित भएका थिए । पछि उत्तराधिकारको दौडमा किम जोङले आफ्ना दाजु किम जोङ नामलाई हराएका हुनसक्छन । त्यसपछि पनि किम जोङले किम नामलाई आफ्नो सत्ताका लागि खतरा मान्न थाले ।

फेब्रुअरी २०१७ मा किम जोङ नामको क्वालालम्पुर एयरपोर्टमा हत्या भयो । उनलाई मार्न वीएक्स नर्भ एजेन्ट प्रयोग गरिएको थियो । रिपोर्ट अनुसार हत्याराहरू तत्काल उत्तर कोरिया पुगे । नोभेम्बर २०२२ मा खिचिएको एउटा तस्विरमा किम जोङ आफ्नी छोरी किम जुसँग देखिएका थिए । यो तस्बिर उत्तर कोरियाको नयाँ अन्तर्राष्ट्रिय ब्यालेस्टिक मिसाइलको परीक्षण फायरिङको अवसरमा खिचिएको थियो । उक्त अवसरमा किम जोङ र किम जुले देशका वैज्ञानिक, इन्जिनियर, सैन्य अधिकारी तथा परीक्षण फायरिङमा संलग्न अन्य व्यक्तिहरूसँग भेटघाट गरे ।


के किम जोङ उन बिरामी छन् ?

उत्तर कोरियाबाट आएका केही संकेतबाट किम जोङको स्वास्थ्य राम्रो नभएको अनुमान गरिएको छ । उनको तौल बढी छ । उनी चुरोट पिउने लतमा छन् । बाबुजस्तै उनलाई पनि बाथ र मधुमेहको समस्या हुने सम्भावना छ । उनी अहिले ३९ वर्षका मात्र भएपनि स्वास्थ्य समस्याका कारण उनको राजनीतिक उत्तराधिकारीको चर्चा सुरु भइसकेको छ । उनका उत्तराधिकारीका सम्भावनाहरुमा टिप्पणी गर्दै टोकियोस्थित वासेडा विश्वविद्यालयका प्रोफेसर तोशिमित्सु शिगेमुरा भन्छन्, “मलाई लाग्दैन कि यी केटी (किम जु)ले आफ्नो बुबाको स्थान लिन सक्ने सम्भावना छ। यसको मुख्य कारण उनी केटी हुनु हो । ” प्रोफेसर तोशिमित्सुका अनुसार “उत्तर कोरिया एकदमै रूढिवादी र कन्फ्युसियसवादी समाज हो। यसको अर्थ किम जु आफ्नो बुबाको उत्तराधिकारीका रूपमा खडाहुन सक्दिनन् भन्ने नै हो । ” प्रोफेसर तोशिमित्सुले समय आए पछि किम जोङले आफ्ना छोरालाई आफ्नो उत्तराधिकारी बनाउने पनि बताए किनभने उनी सत्ता प्रमुखको पद आफ्नै परिवारमा राख्न चाहन्छन्।

असहमति दबाउन प्रयास हुन सक्छ

प्रोफेसर तोशिमित्सु विश्वास गर्छन् कि आफ्नी छोरीसँग देखिनु किम जोङको राम्रोसँग सोचिएको रणनीतिको हिस्सा हुन सक्छ। यही बहानामा उनी जनताको ध्यानाकर्षण गराउन चाहन्छन् । उनको परिवारमा खुसी छ भनेर संकेत गर्न चाहन्छन । यसका अलावा किम देशका जनताले आफूलाई बाबु र नेताका रूपमा चिनुन् भन्ने पनि चाहन्छन । उत्तर कोरियाका बुढापाकाहरूबीच अझै पनि किमको परिवारप्रति सम्मान छ । यता देशमा विदेशी टिभी शो र फिल्महरूको बढ्दो तस्करी बीच युवाहरूमा किम परिवार प्रतिको समर्थन घट्दै गएको छ । यस्तो अवस्थामा किम सम्भवत आफ्नो परिवारले अझै पनि शासन गरिरहने संकेत दिन चाहन्छन् । यो युवा जमातको बढ्दो असन्तुष्टिलाई शान्त पार्ने प्रयास पनि हुन सक्छ।

प्रतिक्रिया