बिहीबार, जेठ २, २०८२

टर्की-सिरिया भूकम्प : मृत्यु हुनेहरुको संख्या ३७ हजार नाघ्यो

नेपालखोज २०७९ फागुन २ गते १०:०२

काठमाडाैं । टर्की र सिरियामा गएको भूकम्पमा परि मृत्यु हुनेहरुको संख्या ३७ हजार नाघेको छ । यसबीच, संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिको उद्दारको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सी युएन एडका प्रमुख मार्टिन ग्रिफिथ्सले भूकम्प पीडितलाई आवास, खाना , विद्यालयको व्यवस्था तथा मानसिक स्वास्थ्यमा सहयोग अहिलेको प्राथमिकता भएको र उद्धार कार्य लगभग सकिएको बताएका छन् । केही मानिस अझै पनि भग्नावशेषमुनि पुरिएका हुनसक्छन । भूकम्प गएको सात दिन बितिसके पनि धेरैलाई भग्नावशेषबाट जिउँदै बाहिर निकाल्ने क्रम जारि नै छ ।

राष्ट्रसंघीय सहायता प्रमुखले राष्ट्रसंघले सिरियाका विद्रोही नियन्त्रित क्षेत्रहरूमा सरकार नियन्त्रित क्षेत्रबाट सहायता सामग्री पुर्याउन चाहेको कुरा बताएका छन् । सिरियामा सबैभन्दा बढि विनाश विद्रोही नियन्त्रित क्षेत्रमा भएको छ । उक्त क्षेत्रमा सीमित सहयोग मात्र पुगिरहेको छ । यसबीच, अमेरिकी सरकारले सिरियाली राष्ट्रपति बसर अल-असदलाई विद्रोही नियन्त्रित क्षेत्रमा थप सहायता उपलब्ध गराउन आग्रह गरेको छ।

सहायता संगठन द ह्वाइट हेल्मेट्सले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रका मानिसहरू निराशछन र विश्वले उनीहरूलाई एक्लै छोडेको महसुस गरिरहेको बताएका छन ।

फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो । हालसम्म यस भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या कम्तीमा ३७ हजार पुगेको छ । यद्यपि संयुक्त राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ ।

अहिले पनि भग्नावशेषबाट धेरै मानिस बाँचेका अचम्मका कथा बाहिर आइरहेका छन् । यसबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म १ सय १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया