बिहीबार, जेठ २, २०८२

तमिल इलमका प्रमुख प्रभाकरण जिउँदै भएको दाबि

नेपालखोज २०७९ फागुन २ गते १३:१५

एजेन्सी । लिबरेशन टाइगर्स अफ तमिल इलमका प्रमुख प्रभाकरण भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीलगायत हजारौं भारतीय तथा श्रीलंकाली नागरिकको हत्याका मुख्य योजनाकार मानिन्छन् । श्रीलंका सेनाले उनको हत्या गरेको पनि थुप्रै समय बितिसकेको छ । यद्यपि अहिले के दाबि गर्न थालिएको छ भने प्रभाकरण मरेका छैनन्, जीवितै छन् ।

यति मात्र होइन, उनी छिट्टै विश्वसामु आउनेछन् । यो ठूलो खुलासा विश्व तमिल महासंघका अध्यक्ष पाजा नेदुमारनले गरेका हुन् । नेदुमारनले भनेका छन्, ‘हाम्रा राष्ट्रिय नेता प्रभाकरण सकुशल र जीवित रहेको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ ।’ उनले समय आएपछि प्रभाकरण विश्वसामु आउने पनि बताए । नेदुमारनले प्रभाकरणले छिट्टै तमिल जातिको मुक्तिको योजना घोषणा गर्न लागेको बताएका छन् ।

‘विश्वका सबै तमिल जनताले एकजुट भएर उनलाई समर्थन गर्नुपर्छ’ नेदुमारनले भनेका छन । लिबरेशन टाइगर्स अफ तमिल इलम लिट्टे (LTTE) का संस्थापक वेलुपिल्लई प्रभाकरण २२ मे २००९ मा श्रीलंकाली सेनाद्वारा मारिएका थिए । यससँगै श्रीलंकाको जाफना क्षेत्र एलटीटीईको आतंकबाट मुक्त भएको थियो । प्रभाकरण मारिएपछि लिट्टेले बन्दुक बिसाउने घोषणा गरेको थियो।

प्रतिक्रिया