मंगलबार, वैशाख २५, २०८१

विकास विनाको परिवर्तनको कुनै अर्थ हुँदैन : पूर्वराजा शाह

नेपालखोज २०७६ कार्तिक १२ गते १६:०२

१२ कार्तिक, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले महसुश गर्ने खालको विकास भएन भने जस्तो सुकै परिवर्तनको पनि कुनै अर्थ नहुने बताएका छन् । भाईटिकाको अवसरमा बहिनी शोभा शाहको हातबाट टिका ग्रहण पश्चात सञ्चारकर्मीहरु माझ पूर्व राजा शाहले सो कुरा बताएका हुन् ।
सम्पूर्ण नेपालीहरुमा भाईटिकाको शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले देश अन्यौल र अस्थिरता तर्फ अगाडि बढेको संकेत गर्दै परिवर्तन हुँदा बखत दुईवटा महत्वपूर्ण कुरा नविर्सन परिवर्तनकारीहरुलाई आग्रह समेत गरेका छन् ।
पूर्वराजाले भने, परिर्वतन हुँदखेरी दुईवटा महत्वपूर्ण कुरा हुुनु पर्दछ, एउटा प्रबृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने परिवर्तनको माने हुँदै । यसले परिवर्तनकर्ताहरुलाई नै अप्ठ्यारो पर्न सक्छ ।’
पछिल्लो समयमा राजनीतिक दलहरुको अकर्मण्यताका कारण जनतामा निराशा उत्पन्न भईरहेका बेला सर्वसाधारणले सजिलो र सरल ढंगले अनुभव गर्ने गरी विकास हुनु पर्नेमा शाहले जोड दिएका छन् ।
एकले अर्काको खुट्टा तान्ने होइन, कसैको कुरा काट्ने होइन परिवारसँग शान्त र सुखद् वातावरणमा बस्न पाउने अवस्थाको सृजना होस् भन्ने शुभकामना पनि शाहले दिएका थिए ।

तिहारको उपलक्ष्यमा शुभकामना स्वरुप पूर्वराजाले , ‘धन हुनेलाई मन पाईयोस् र मन हुनेलाई नेपालीपन पाईयोस ’ भनेर आफूले लक्ष्मीमातासँग प्रार्थना गरेको समेत उल्लेख गरे ।
पूर्व राजा शाहले लक्ष्मी प्रसाद देवकोटालाई समेत स्मरण गर्दै देवकोटाको कवितामा उल्लेख गरे जस्तै आफैलाई नै मेटिएर भएपनि अर्काको सुख गर्नु नै सुख हो यही भावना सवैमा छाओस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया