भारी हिमपातका कारण सिक्किममा पर्यटक अलपत्र

काठमाडाैं । नेपाली भाषी बाहुल्य भारतको पहाडी राज्य सिक्किममा शनिबार साँझ परेको भारी हिमपातका कारण सीमावर्ती क्षेत्र नाथुलाबाट फर्किएका सयभन्दा बढी सवारी साधनमा रहेका करिब ९०० पर्यटक बाटोमै अलपत्र परेका छन् । उनिहरुको राहत तथा उद्धारका लागि सेना परिचालन गर्नुपरेको छ ।
एक प्रहरी अधिकारीले केही पर्यटकलाई सेनाका जवानहरूले राति राजधानी गान्तोक ल्याएको बताए । बाँकीले नजिकै रहेको आर्मी क्याम्पमा रात बिताउनुपरेको थियो । उनीहरुलाई आइतबार बिहान राजधानी लैजाने पठाउन थालिएको छ ।
नाथुला र गान्तोक बीचको १५ माइल क्षेत्रमा ९ सय पर्यटक फसेको सेना स्रोतले जनाएको छ । उनीहरु सीमा क्षेत्र नाथुला तथा त्यहाँको प्रख्यात चाँगु ताल हेरेर फर्किरहेका थिए । उक्त क्षेत्र गान्तोकबाट करिब ४२ किलोमिटर टाढा छ ।

अहिले सीमा सडक संगठन (BRO) को टोली बाटोमा जमेको हिउँ हटाउनमा व्यस्त छ । केही पर्यटकलाई नजिकैको सैनिक क्यान्टोनमेन्टमा लगिएको र त्यहाँ उनीहरुको खाना तथा उपचारको व्यवस्था मिलाईएको बताइन्छ । भारी हिमपातका कारण सिक्किम प्रशासनले केही दिनदेखि नाथुला र चाँगु तालमा पास जारी गर्न बन्द गरेको छ ।
प्रतिक्रिया