संसारलाई गाँज्दै डिमेन्सिया

काठमाडाैं । डिमेन्सिया एउटा यस्तो रोग हो जसमा बिरामी मानसिक रूपमा यति कमजोर हुन्छ कि उसले आफ्ना दैनिक कार्यहरू पूरा गर्न पनि अरूको मद्दत लिनु पर्छ ।
विज्ञहरूका अनुसार डिमेन्सिया भए पछि मस्तिष्कभित्र विभिन्न प्रकारका प्रोटिन जम्मा हुन थाल्छन्, जसले मस्तिष्कको तन्तुलाई नोक्सान पुर्याउन थाल्छ । यो रोगका कारण मानिसको सोच्ने, बुझ्ने, हेर्ने तथा बोल्ने क्षमता बिस्तारै घट्दै जान्छ । डिमेन्सिया कुनै एउटा रोगको नाम होइन, यो थुप्रै रोग वा धेरै लक्षणहरूको समूहको नाम हो ।
अल्जाइमर सबैभन्दा प्रमुख रोगहरू मध्ये एक हो, जसले ठूलो संख्याका मानिसलाई असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ६० देखि ७० प्रतिशत डिमेन्सियाको कारण अल्जाइमर्स हो । नेपाल जस्ता देसहरुमा यसतर्फ खासै ध्यान नदिइए पनि यो विकार कति घातक छ भने डिमेन्सिया मानिसको मृत्युको सातौं प्रमुख कारण हो । यति मात्र होइन, विश्वव्यापी रूपमा हेर्दा यो अपाङ्गता तथा वृद्धवृद्धाहरूमा अरूमाथिको निर्भरता बढ्नुको प्रमुख कारण पनि हो ।
अनुसन्धानहरु अनुसार ६० वर्षभन्दा माथिका वृद्धवृद्धामध्ये ८ प्रतिशत भन्दा बढि डिमेन्सियाबाट पीडित हुन सक्छन् । अमेरिकामा करिब ८ दशमलव ८ प्रतिशत ज्येष्ठ नागरिक यो रोगबाट पीडित छन् । त्यस्तै, बेलायतमा ९ प्रतिशत वृद्ध, जर्मनीमा ८.५ प्रतिशत तथा फ्रान्समा ९ प्रतिशत मानिस डिमेन्सियाबाट पीडित छन् । यो अध्ययन न्यूरोएपिडेमियोलोजी जर्नलमा प्रकाशित छ ।
यो अध्ययनका लागि शोधकर्ताहरूले ३१,४७७ वृद्ध व्यक्तिहरूको स्वास्थ्य डेटा विश्लेषण गर्न एआइ (AI ) मा आधारित मेसिन लर्निङ प्रविधिहरू प्रयोग गरेका थिए । सन् २०१९ देखि २०५० सम्म विश्वभर डिमेन्सियाका बिरामीको संख्या तीन गुणा बढ्ने अनुमान गरिएको छ । उल्लेखनीय कुरा के छ भने २०१९ मा विश्वव्यापी रूपमा ५७ मिलियन डिमेन्सियाका बिमारी रिपोर्ट गरिएका थिए । यो संख्या १ सय ६६ प्रतिशतले बढेर सन् २०५० सम्ममा १ सय ५३ मिलियन पुग्ने अनुमान छ । हरेक वर्ष विश्वभर यो रोगका एक करोडभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन् ।
डब्ल्यूएचओको अनुमान अनुसार हाल ६० प्रतिशत भन्दा बढी डिमेन्सिया रोगी कम वा मध्यम आय भएका देशहरूमा छन् । अर्कातर्फ यसको आर्थिक लागतलाई हेर्दा, २०१९ मा डिमेन्सियाको कुल अनुमानित सामाजिक लागत लगभग ९६ लाख करोड रुपैयाँ थियो । यो खर्च २०३० सम्ममा बढेर २०६.९ लाख करोड पुग्ने अनुमान गरिएको छ ।
यो यस्तो रोग हो जसको उपचारका लागि निकै कम औषधि उपलब्ध छन् भने नेपालजस्ता विकासोन्मुख देशमा मानिस कहिले यो रोगको सिकार हुन्छ भन्ने पनि थाहा हुँदैन । यस्तो अवस्थामा यो रोगको प्रारम्भिक पहिचान र उपचार नै लाभदायक हुन सक्छ।







प्रतिक्रिया