सोमबार, वैशाख २९, २०८२

इक्वेडरमा ६.७ म्याग्निच्युडको भूकम्प, १३ जनाको मृत्यु

नेपालखोज २०७९ चैत ५ गते ९:२६

काठमाडाैं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ, जसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । युएसजीएसका अनुसार इक्वेडरका आधाभन्दा बढी प्रान्तमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पका कारण देशका धेरै सहरमा भवनमा पनि क्षति पुगेको छ । सरकारि अधिकारीहरुका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित यहाँको एल ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको छ । योसँगै अजुए प्रान्तमा एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । यहाँ टुम्बेस प्रान्तमा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । इक्वेडरको आपतकालीन सेवाले यहाँका घरहरु भत्किँदा धेरै मानिसहरु भग्नावशेषमुनि पुरिएका उनीहरुको उद्दारको काम तीव्र गतिमा भैरहेको बताएको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिल भन्दा करिब ८० किलोमिटर टाढा रहेको बालाओमा रहेको बताइएको छ । घना जनसंख्या भएको ग्वायाकिलको जनसंख्या करिब ३० लाख छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले उद्धारकर्मीहरू उद्धार कार्यमा संलग्न रहेको र भग्नावशेषमा फसेका मानिसहरूलाई जतिसक्दो चाँडो बाहिर निकालिने बताएका छन्।

घाइतेमध्ये केहीको अस्पतालमा उपचार भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ तर, राष्ट्रपति कार्यालयले न त घाइतेहरुको विवरण दिएको छ न त उनीहरुको बारेमा कुनै जानकारी नै दिएको छ ।

प्रतिक्रिया