मंगलबार, वैशाख १८, २०८१

महिला नेतृत्व शिखर सम्मेलन आयोजना हुँदै

नेपालखोज २०७९ चैत ६ गते २०:४८

काठमाडौं । नेपाल उद्योग परिसङ्घले यही चैत ११ र १२ गते काठमाडौँमा ‘महिला नेतृत्व शिखर सम्मेलन २३’ (वुमेन्स लिडरसिप समिट २३) आयोजना गर्ने भएको छ । परिसङ्घ महिला नेतृत्व मञ्चको संयोजनमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको जानकारी गराइएको हो ।

कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीन वटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको परिसङ्घले जनाएको छ । ‘कोभिड–१९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्यले सम्मेलन आयोजना गर्न खोजिएको हो’, परिसङ्घका उपाध्यक्ष निर्वाण चौधरीले भने।

सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने उनको भनाइ छ । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसङ्घ महिला उद्यमी मञ्चका सभापति छायाँ शर्माले बताइन् । उनका अनुसार सम्मेलनका विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भूटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायत क्षेत्रमा स्थापित एवं प्रभावशाली व्यक्तित्वको सहभागिता रहनेछ ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याउनुभएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिनेछ । दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव सरकारलाई हस्तान्तरण गरिने पनि परिसङ्घले जनाएको छ ।

प्रतिक्रिया