अमृतपाल सिंहको मामिलामा के भइरहेको छ ? केही अनुत्तरित प्रश्नहरू

पञ्जाब पुलिस लगातार चार दिनदेखि वारिस पञ्जाब दे का प्रमुख अमृतपाल सिंहको खोजीमा थियो। अमृतपाल सिंहविरुद्ध अहिलेसम्म ६ वटा एफआइआर दर्ता भएका छन् । पंजाब पुलिस महानिरीक्षक (मुख्यालय) सुखचैन सिंह गिलका अनुसार – अमृतपाल सिंहका चार जना सहयोगीलाई असमको डिब्रुगढ पठाइएको छ भने अर्का हरजित सिंहलाई पनि पक्राउ पछि असम पठाइएको छ ।
सुखचैन सिंह गिलका अनुसार , ‘ती पाँच जना अभियुक्तलाई रासुका लगाइएको छ । कानून अनुसार प्रहरीले आरोपीलाई अर्को राज्यको जेल पठाउन सक्छ ।’ उनले यो पनि भने कि ‘पंजाबमा शान्तिको वातावरण छ, कसैले पनि झुटा समाचारहरू नफैलाउनुहोस् ।
प्रहरीले पक्राउ गरेका अमृतपाल सिंहका ती पाँच जना सहयोगीबाट बुलेट प्रुफ ज्याकेट पनि फेला परेको छ । ती ज्याकेटमा AKF (आनन्दपुर खालसा फौज) लेखिएको छ ।अमृतपाल सिंहको घर बाहिरको ढोकामा पनि AKF लेखिएको छ। आईजी गिलले भने – पञ्जाब पुलिसले यो मामिलामा विदेशी कोष र आईएसआईको कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।
कति जना पक्राउ परे ?
यो एउटा अनुत्तरित प्रश्न हो जसको उत्तर पाउन बाँकी नै छ । साथै पक्राउ परेका व्यक्तिहरु को को हुन् जो अमृतपालका सहयोगी रहेको बताइएको छ । आईजीपी सुखचैन सिंह गिल भन्छन, ‘अहिलेसम्म १ सय १४ जनालाई हिरासतमा लिइएको छ । पहिलो दिन ७८, दोस्रो दिन ३४ र तेस्रो दिन २ जनालाई नियन्त्रणमा लिइएको थियो । ती सबै बिरुद्ध राज्यको शान्ति भंग गरेको आरोप छ।’
अर्कातर्फ अमृतपाल सिंहका निकट सहयोगी दलजित सिंह कलसी र भगवन्त सिंहका परिवारले उनिहरु दुवैलाई पक्राउ गरेको बताएका छन् ।
को हुन् अमृतपाल सिंहका गुरु ?
जालन्धरका एसएसपी ग्रामीण स्वर्णदीप सिंहले अर्मितपाल सिंहका काका हरजीत सिंह र चालक हरप्रीत सिंहलाई पक्राउ गरेको दाबी गरेका छन् । उनी १९-२० मार्चको राती जालन्धरको शाहकोटबातथा पक्राउ परेका हुन्। हरजीत सिंहलाई अमृतपाल सिंहको काका तथा गुरु बताईएको छ। उनी पेसाले दुबईका ट्रान्सपोर्टर भएको बताइएको छ ।
हरजित सिंहले अमृतपाल सिंहको कारलाई पछ्याउँदा आफू प्रहरी टोलीसँगै रहेको दाबी गरेका छन । जालन्धर पुलिसका अनुसार अमृतपाल सिंहले प्रयोग गरेको मर्सिडिज कार हरजीत सिंहबाट बरामद गरिएको छ ।
आईजीपी सुखचैन सिंह गिलका अनुसार अमृतपाल सिंह हाल फरार रहेको र उनलाई पक्राउ गर्न विभिन्न ठाउँमा छापामारि चलिरहेको छ । अमृतपाल सिंहका सहयोगीहरुबाट कति गाडी र कति हतियार बरामद भए ? भन्ने प्रश्नमा प्रहरी महानिरीक्षक सुखचैन सिंह गिलले भने, ‘अहिलेसम्म १२ बोरको सात वटा राइफल , ३१५ बोरको दुई वटा राइफल र ३२ बोरको एउटा रिभल्भर गरी १० वटा हतियार बरामद भएको छ । यसबाहेक ४३० वटा जिउँदो कारतूस पनि फेला परेको छ ।’
प्रहरीले अमृतपाल सिंह र उनका सहयोगीका चारवटा गाडी पनि नियन्त्रणमा लिएको छ । जसमा एउटा मर्सिडिज कार, दुईवटा एन्डेभर्स र एउटा इसुजु कार छन् । बरामद गरिएको बेवारिसे इसुजु गाडी अमृतपाल सिंहले भाग्न प्रयोग गरेको प्रहरीले जनाएको छ । सुखचैन सिंह गिलका अनुसार फेला परेको कारमा ३१५ बोरको राइफल, तरवार र वाकीटकी फेला परेको थियो । उनले भने, ‘यसमा आईएसआईको कोण र विदेशी लगानी संलग्न भएको आशंका छ । यसको अनुसन्धान भइरहेको छ।’ बरामद गरिएका राइफलमा एकेएफ अर्थात् आनन्दपुर खालसा फौज लेखिएको प्रहरीले जनाएको छ ।
पञ्जाब देखि बेलायत र अमेरिका सम्म विरोध प्रदर्शन
पञ्जाबमा ‘कौमी इन्साफ मोर्चा’का केही कार्यकर्ताले अमृतपाल सिंहमाथि गरिएको कारबाहीको विरोध गरेका छन् । उक्त प्रदर्शन मोहालीको एयरपोर्ट रोड जाने बाटोमा गरिएको थियो जसमा करिब १०० जनाको सहभागिता थियो । आन्दोलनकारीले सडकको एक भाग पूर्ण रुपमा अवरुद्ध गरेका छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
अर्कोतर्फ, अमृतपाल सिंह विरुद्धको कारबाहीलाई लिएर केही सिख संगठनहरूले सिखहरूलाई मार्च २१ मा हरियाणाको कर्नालमा भेला हुन आह्वान गरेका छन् । चण्डीगढ र पञ्जाबका धेरै जिल्लाहरूमा धारा १४४ लागू गरिएको छ। पञ्जाबका धेरै जिल्लामा प्रहरीले फ्ल्याग मार्च पनि गरेको छ । यो बिषयमा अमेरिका , क्यानाडा तथा बेलायतमा पनि प्रदर्सनहरु भएको खबर छ ।
पञ्जाबमा कानून – व्यवस्था
अमृतपाल सिंहको मुद्दा पञ्जाब र हरियाणा उच्च अदालतमा छ। ‘वारिस पञ्जाब दे’सँग सम्बद्ध इमान सिंहले अदालतमा निवेदन दिएकी थिइन् । उक्त निवेदनमा अमृतपाललाई अदालतमा पेश गर्न माग गरिएको थियो । पञ्जाब पुलिसलाई नोटिस जारी गर्दै अदालतले यो मुद्दाको सुनुवाई मार्च २१ मा राखेको छ । सबै अवस्थालाई ध्यानमा राख्दै प्रदेश गृह विभागले शनिबारदेखि प्रदेशभर मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध मार्च २१ दिउँसो १२ बजेसम्म जारी रहनेछ ।
प्रश्नहरू जसको उत्तर बाँकी छ
प्रहरीले अमृतपाल सिंह फरार रहेको दाबी गरेको छ । यता शनिबार केही मिडिया रिपोर्टमा अमृतपाल सिंहको शाहकोटको गुरुद्वारा साहिबमा उपस्थितिका बारेमा बताइएको थियो । तर सोही साँझ प्रहरीले उनी फरार रहेको बताएको थियो । अमृतपाल सिंहका परिवारका सदस्यले अमृतपालका बारेमा आफुहरु लाई कुनै खबर नभएको बताएका छन् । अमृतपाल कहाँ छन् भन्ने खुल्न सकेको छैन ।
पञ्जाब पुलिसले अमृतपाल सिंह विरुद्धको पुलिस कारवाही कहिलेसम्म जारी रहनेछ भन्ने बिषयमा पनि केहि बताएको छैन। पञ्जाब पुलिसलाई धार्मिक स्थलहरू बाहिर विशेष गरी गाउँका गुरुद्वाराहरूमा तैनाथ गरिएको छ र मानिसहरूलाई अफवाहहरूमा विश्वास नगर्न अपील गरिएको छ। जालंधर पुलिसका अनुसार वारिस पञ्जाब दे का कतिपय कार्यकर्ता आपराधिक घटनामा संलग्न थिए । यसमा गडबडी गराउने, जानाजानी हत्या, प्रहरीमाथि हमला गर्ने र सरकारी कर्मचारीलाई कानुनी रूपमा काम गर्नबाट रोक्ने मुद्दाहरू छन् ।
प्रहरीले अजनाला प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वारिस पञ्जाब देका कार्यकर्ताहरू विरुद्ध फेब्रुअरी २४ मा मुद्दा दर्ता गरिएको जनाएको छ। यता अमृतपाल सिंह पक्राउ परेको खबर स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । एक मिडिया रिपोर्टमा अमृतपाललाई गिरफ्तार गरी असमको डिब्रुगढ जेलमा पठाइएको दाबी गरिएको थियो । केही सञ्चारमाध्यमले अमृतपाललाई पक्राउ गरिएको दाबी गरेका ट्वीट पनि सार्वजनिक भएका थिए तर पछि ती ट्वीट हटाइएको थियो । पञ्जाब प्रहरीले ती समाचारलाई झुटो भन्दै सर्वसाधारणलाई शान्ति र सद्भाव कायम राख्न अपिल गरेको छ । – बीबीसी
प्रतिक्रिया