गठबन्धनको बैठक बस्दै, मन्त्रीपरिषद् विस्तार बारे छलफल गर्ने

काठमाडाैं । सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न गठबन्धन दलहरुको बैठक आज आइतबार बस्दैछ। दिउँसो बस्ने बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरुको टुङ्गो लगाउने तयारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि साना दलहरुले धेरै मन्त्रालय मागे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीपरिषद् विस्तार गर्न सकस भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिएका सबै दललाई समेट्ने गरी मन्त्रीपरिषद् विस्तारको तयारी गरिएको छ। यद्यपि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा सहभागी हुने सम्भावना छैन्।
प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन्। माओवादीले गृह मन्त्रालय आफैँसँग राख्न चाहेको छ भने कांग्रेसले अर्थ मन्त्रालय लिने करिब पक्का भएको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ।
सत्ता घटक दल कांग्रेसले अर्थसहित कम्तीमा आठ मन्त्रालयमा दाबी गरेको छ। तर प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सात मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरेका छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित अर्थ मन्त्री बन्ने चर्चा भइरहेको छ।
शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले १३ गतेसम्म गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको थियो।
प्रतिक्रिया