‘सामना जनसङ्गीत अभियान’

गण्डकी । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ ।
मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहेका छन् ।
कला र गीत-सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताउनुभयो । ‘अभियानका क्रममा जनवादी गीत, नृत्य, नाटकलगायत प्रस्तुति दिँदै हिँडिरहेका छौँ,’ उनले भने, ‘यही चैत अन्तितममा बाजुरा पुगेर साङ्गीतिक यात्रा टुङ्गिन्छ ।’
जाजरकोट, सुर्खेत हुँदै अभियानमा सूदुरपश्चिमका पहाडी जिल्लामा पुग्नेछ । कार्यक्रम व्यवस्थापनमा स्थानीय पार्टी समिति र शुभेच्छुकहरुबाट सहयोग प्राप्त भइरहेको नेकपाले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य एवं धवलागिरि इन्चार्ज विकिरण क्षेत्रीले साङ्गीतिक अभियानमा पार्टीको विचार सम्प्रेषणलाई पनि सँगसँगै जोडिएको बताए ।
‘कलाकारको प्रस्तुति सँगसँगै नेतृत्वबाट वैज्ञानिक समाजवादबारे पार्टीको नीति र दृष्टिकोण राख्ने काम हुन्छ’, उनले भने, ‘जनताको उपस्थिति र साथले हामी उत्साहित नै छौँ, यस किसिमको अभियानले पार्टीलाई तलसम्म स्थापित गर्न सघाउँछ ।’
उनले मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यस आसपासका जिल्लामा पहिलो चरणको साङ्गीतिक अभियान चलाइएको बताए । पश्चिमको यात्रा सकिएपछि दोस्रो चरणमा पूर्वी नेपालका पहाडी जिल्लामा जनसङ्गीत अभियान सुरु हुने उनको भनाइ छ । नेकपाका केन्द्रीय सदस्य क्षेत्रीले मुलुकको आमूल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको आवश्यकता औँल्याए ।
‘अहिलेका सबै राजनीतिक दलले समाजवादको कुरा त गर्छन्, जनताले चाहेजस्तो समाजवाद ल्याउन सम्भव छैन,’ उनले भने । नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टी निकट कलाकारको अगुवाइमा ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ पनि अहिले सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया