न्यूनतम साझा कार्यक्रममा रास्वपाको असहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताएका छन् । महामन्त्री ढकालले पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए ।
शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।
विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त छन्, लक्ष्यविहीन र आलटाले देखिएको ढकालले बताए ।
‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन्’, ढकालले सञ्चारकर्मीहरुलाई भनेका छन् ।
प्रतिक्रिया