ए डिभिजन लिगमा पुलिसकाे पहिलो जित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेण्ड्स क्लवलबाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।
विदेशी खेलाडी भित्र्याएको पुलिसले सातौं चरणको खेलमा पहिलो पटक स्पष्ट अंक जोड्न सफल भएको हो । अघिल्लो खेलहरुमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे । यस्तै फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए ।
विदेशी खेलाडी समावेश भएपछि उच्च मनोबलका साथ खेलेको पुलिसले पहिलो हाफमा भने अपेक्षा अनुसार खेल्न सकेन । दोस्रो हाफमा तालमेल मिलेपछि आक्रामक रुपमा देखिएको पुलिसले ५० औं मिनेटमा गोलको खाता खोल्यो । मोसेसको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ५७ औं मिनेटमा बुद्धले टोलीको अग्रता दोब्बर बनाउँदा खेल सकिन चार मिनेट बाँकी रहँदो फ्रेण्ड्सले गोल गर्दै अन्तर छोट्याएको थियो ।
८६ औं मिनेटमा फ्रेण्ड्सका जेब्रिनले खेललाई २–१ को स्थितीमा ल्याएको खेलको ८९औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिसले ३–१ को जित निश्चित गरेको हो । जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पु-याएको छ । फ्रेण्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको छ ।







प्रतिक्रिया