आइतबार, असार २२, २०८२

भारतबाटै पक्राउ परे अमृतपाल

नेपालखोज २०८० वैशाख १० गते ८:५७

काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतबाटै पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो ।

तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए ।

पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए ।

उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया