६ महिनामा ३०० भन्दा बढीलाई शारीरिक सजाय

संयुक्त राष्ट्र सङ्घले आफ्नो एउटा नयाँ प्रतिवेदनमा विगत ६ महिनामा अफगानिस्तानमा तालिबानले ३ सयभन्दा बढीलाई सजाय स्वरूप शारीरिक दण्ड दिएको जनाएको छ । राष्ट्र सङ्घले यसलाई यातना विरुद्धको महासन्धिको उल्लङ्घन बताएको छ ।
यस अवधिमा कम्तीमा २ सय ७४ जना पुरुष , ५८ जना महिला तथा २ जना किशोरलाई सार्वजनिक रूपमा कोर्रा हानिएको वा पिटिएको संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छल। सामान्यतया प्रत्येक व्यक्तिलाई ३० देखि ३९ पटक पिटिएको थियो ।
यसरी सजाय सुनाइएकाहरूमध्ये धेरै जसोको ‘अपराध’ विवाह बाह्य सम्बन्ध , घरबाट भाग्ने, चोरी, समलैगिंकता, रक्सी पिउनु , ठगी तथा लागू औषध ओसारपसार रहेका थिए । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनका मानव अधिकार प्रमुख फियोना फ्रिजरले ‘शारीरिक दण्ड यातना विरुद्धको महासन्धिको उल्लङ्घन हो र यसको अन्त्य हुनै पर्छ’ भनेकी छिन् ।
उनले भनिन् – संयुक्त राष्ट्र मृत्युदण्डको कडा विरोध गर्दछ र यसमा प्रतिबन्ध लगाउनै पर्छ। संयुक्त राष्ट्र सङ्घले यस अवधिमा मृत्युदण्डको एउटा घटना पनि रिपोर्ट गरेको छ, जसमा एक व्यक्तिलाई उच्च अधिकारीहरूको उपस्थितिमा अदालतको अनुमतिमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो ।
ती व्यक्तिलाई २०१७ मा एक व्यक्तिलाई छुरा प्रहार गरेको आरोपमा दोषी ठहराइएको थियो। संयुक्त राष्ट्रको प्रतिवेदनको जवाफमा तालिबानको विदेश मन्त्रालयले अपराधीहरूलाई इस्लामिक कानुन अन्तर्गत सजाय दिइएको र मानिसहरूकालागि सुरक्षित वातावरण सुनिश्चित गर्न दण्ड आवश्यक भएको बताएको छ।
तालिबानले आफ्नो सन् १९९० को दशकको शासनको तुलनामा नरम शासन गर्ने वाचा गरे पनि झन्डै दुई वर्षअघि देशमा सत्तामा आएपछि यस्ता सजायहरू पुनः दिन थालेको छ ।-APF
प्रतिक्रिया