राजनीतिक अस्थिरताका कारण पाकिस्तानी रुपैयाँको अवमूल्यन हुँदै

इस्लामावाद । पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ ।
बुधवार अन्तर बैङ्क बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ।
मङ्गलवार कारोबार अमेरिकी डलर २८४.८४ रुपैयाँमा बन्द भएको थियो । बुधवार स्थानीय मुद्रा अमेरिकी डलरको तुलनामा ५.३८ रुपैयाँ (करिब १.८५ प्रतिशत)ले घटेर न्यून रेकर्ड भएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
बजार विश्लेषकहरूका अनुसार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको आरोपमा राष्ट्रिय जबाफदेहिता ब्युरोले मङ्गलवार पक्राउ गरेपछि देशभर व्यापक विरोध भएको र त्यसकै प्रभावले पैसाको अवमूल्यन भएको टिप्पणी गरिएको छ ।
दक्षिण एसियाली मुलुकमा चलिरहेको राजनीतिक अस्थिरतापछि अन्तर्राष्ट्रिय मुद्रा कोषको बेल आउट कार्यक्रमको पुन: सुरुवातमा आएको अनिश्चितता र विदेशी विनिमय सञ्चितिमा आएको कमीका कारण केही समयदेखि यहाँको रुपैयाँ दबाबमा रहेको छ ।
प्रतिक्रिया