सोमबार, मंसिर २९, २०८२

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

नेपालखोज २०८० जेठ १४ गते १५:४५

काठमाडाैं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताए ।

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावरण निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रम निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनको भनाइ छ । विश्वविद्यालय पाठ्यक्रम र पठनपाठन सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताए ।

उनले रोजगारी र स्वरोजगारीको एउटा मुख्य क्षेत्र सूचना प्रविधि बनिरहेको अवस्थामा हाम्रा विश्वविद्यालयका पाठ्यक्रम र पठनपाठन सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो बनाउन सकिने बताए । देशमा व्याप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुशासन कायम गर्न लागिपरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार निर्मूल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ महत्वपूर्ण हुने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिए । उच्चस्तरीय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उनले बताए । जटिल परिस्थितिकाबीच नीति तथा कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताए ।

जेठ १७ गते भारत भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्रीले यस पटकको भारत भ्रमण विशिष्ट र राष्ट्रिय हितलाई महत्व दिने खालको हुनेमा विश्वास व्यक्त गरे । भ्रमणका क्रममा सन् २०१९ देखि रोकिएको व्यापार पारवहानसम्बन्धी सन्धि खुलाउने प्रयास हुने, हवाई रुट थप्ने विषयमा ब्रेक थ्रु गर्ने, वषौँंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोेजनालाई सुरु गर्ने, सीमा समस्या सम्बोधन गर्ने गरी सरकारले तयारी गरेको बताए । साथै, नेपालको अहितमा कुनै सम्झौता तथा सहमति नगर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङलगायतका शीर्ष नेता एवम् प्राध्यापक सङ्गठनका नेताहरुको सहभागिता थियो । rss

प्रतिक्रिया