पाँचथरमा बाढी, ६ जना बेपत्ता

काठमाडौं। पाँचथरको हेवा खोलामा आएको बाढीमा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढिले हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए ।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले बताए । बेपत्ताहरूको नाम खुल्न बाँकी छ ।
बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरका विभिन्न ठाउँमा पशुभाउ पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया