बिहीबार, जेठ २, २०८२

कुटपिटको घटनापछि गाउँपालिकाको सेवा प्रवाह ठप्प

नेपालखोज २०८० असार ११ गते २१:४८

सुदूरपश्चिम । गाउँसभाको बैठक चलिरहँदा भएको कुटपिटको घटनापछि कैलालीको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिका कार्यालयको सेवा प्रवाह ठप्प भएको छ । घटनापछि त्यहाँ बस्ने वातावरण नभएको भन्दै कर्मचारी तराईतर्फ हिँडेपछि काम ठप्प भएको हो ।

गाउँपलिकाको कार्यालय सार्नेसम्बन्धी प्रस्ताव आइतबार बसेको गाउँसभाले दुई तिहाइ बहुमतले पारित गरेलगत्तै असन्तुष्ट स्थानीय केही व्यक्ति कुटपिट र हात हालाहालमा उत्रिएका थिए । ‘कुटपिटको घटनापछि त्यहाँ बस्ने वातावरण नै भएन, घटनालगत्तै कोही मोटरसाइकलमा र कोही पैदल हिँडेर गाउँ छाड्नु पर्यो’, एक कर्मचारीले भने, ‘सबै हिँडेपछि कार्यालयको सेवा प्रवाह रोकिएको छ ।’

आक्रमणबाट गाउँपालिका उपाध्यक्ष कमल साउद र वडा नं २ र ७ का अध्यक्षसहितका व्यक्ति घाइते भए । घाइतेको अवस्था सामान्य रहेको छ । आक्रोशितको ढुङ्गा प्रहारबाट कार्यालयको नवनिर्मित भवनमा क्षति पुगेको छ । हाल खिमडी भन्ने ठाउँमा रहेको गाउँपालिकाको कार्यालय वडा–१ को भकुण्डे भन्ने ठाउँमा सार्ने प्रस्ताव पारित भएको जनाइएको छ ।

खिमडी क्षेत्रबाट कार्यालय सबैको पायक पर्ने ठाउँमा सार्नुपर्ने माग विगतदेखि नै हुँदै आएको थियो । भौगोलिक विकटता र सडक पूर्वाधारको अभावका कारण यो गाउँपालिकाको कार्यालय विगतमा मैदानी फाँटको सुक्खड बजारमा सञ्चालनमा ल्याई सेवाप्रवाह गर्ने गरिएको थियो । केही वर्ष धनगढीबाट पनि गाउँपालिका कार्यालयले सेवाप्रदान गरेको थियो । -rss

प्रतिक्रिया