महिला सङ्घको प्रथम बैठक सम्पन्न, विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक बुधबार सङ्घको केन्द्रीय कार्यालय धापासीमा सम्पन्न भएको छ ।
सङ्घका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको छ । बैठकमा सङ्घले आम महिलाको हकअधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भूमिका खेल्नुपर्नेमा सहभागीले जोड दिएका थिइन्। बैठकमा अध्यक्ष मिश्रले महिला सङ्घ स्थापनापश्चात् हरेक राजनीतिक आन्दोलनमा आफूलाई खरोरूपमा प्रस्तुत गर्दै आएको यो सङ्गठनको भविष्यमा पनि विशेष भूमिका रहने बताइन्।
बैठकले प्रेस संयोजकमा मञ्जु नेपाल भण्डारी, आर्थिक समिति संयोजकमा वसन्ती भण्डारी, सदस्यमा तारा थपलिया, घरेलु हिंसाविरूद्धको समिति संयोजकमा सरस्वती बस्नेत र सदस्यमा डा. सुष्मा तिवारी, ज्वाला पाण्डे, भारती जोशी, रेपिड रेस्पोन्स टिममा डा. अमिता प्रधान, डा सीता घिमिरे र ट्रेड युनियन सम्पर्क समितिमा भीमकला गैह्रेलाई जिम्मेवारी दिएको छ ।
पार्टीको चौधौँ महाधिवेशनपछि बनेको तदर्थ समितिले यथाशक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्नेगरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताइन् । बैठकले प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने, सङ्घको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मङ्गलादेवी सिंहको स्मृति दिवस मनाउनेलगायतका निर्णय गरेको छ ।
प्रतिक्रिया