यूरोपियन युनियनमा रेकर्ड शरण आवेदन

काठमाडाैं । गत वर्ष यूरोपियन युनियन ( EU ) मा रेकर्ड संख्यामा सिरिया, अफगानिस्तान, टर्की, भेनेजुएला र कोलम्बियाबाट शरणका लागि आवेदन आए । युरोपेली संघमा अहिले नयाँ आप्रवासन योजनाका बिषयमा बहस भैरहेको छ । युरोपेली संघको शरण एजेन्सी (EUAA) ले यसैसाता प्रतिवेदन जारी गरेको छ जसमा २०२२ मा इयुमा आएका शरण आवेदन लगभग एक मिलियनको नयाँ रेकर्ड स्तरमा पुगेको संकेत गर्छ ।
गत वर्ष ९ लाख ९६ हजार आवेदन प्राप्त भएको थियो जुन सन् २०२१ को तुलनामा ५३ प्रतिशतले बढि हो । ईयूमा शरणका लागि आवेदन दिने सबैभन्दा ठूलो समूह सिरिया, अफगानिस्तान, टर्की, भेनेजुएला र कोलम्बियाका मानिसहरू थिए। जर्मनीमा सबैभन्दा बढी २ लाख ४४ हजार शरणार्थी आवेदन प्राप्त भएका छन् भने त्यसपछि फ्रान्स, स्पेन, अस्ट्रिया र इटाली छन्। युक्रेनबाट आएर ईयूमा बसोबास गर्ने करिब ४० लाख मानिस छन् ।
उनीहरू गत वर्ष शरण माग्ने १० लाख आवेदकहरूमध्येका होइनन्। युक्रेनमा जारी युद्धका कारण भागेका मानिसहरूलाई विशेष अस्थायी सुरक्षा दर्जा दिइएको छ। एजेन्सीहरुले शरणार्थीहरूको संख्याका कारण धेरै देशहरू गम्भीर दबाबमा रहेको बताएका छन किनभने स्थानीय बासिन्दाहरूलाई शरणार्थीहरूप्रति बढी आपत्ति छ र उनीहरूले शरणार्थीहरूलाई स्वागत गर्न कठिनाइ महसुस गरिरहेका छन् ।
ईयुको नयाँ आप्रवास योजना यो प्रतिवेदन यस्तो समयमा आएको छ जब ईयुका नेताहरू आप्रवासन, विशेष गरी कानुनी प्रक्रियाविना युरोपेली देशहरूमा आएका मानिसहरूलाई सम्बोधन गर्ने नयाँ योजनाबारे छलफल गरिरहेका छन् । युरोपेली संघले भर्खरै एउटा योजनामा सहमति जनाएका छन् जस अन्तर्गत ईयुका देशहरूले निश्चित संख्यामा आप्रवासीहरूलाई स्वीकार गर्नुपर्नेछ वा अस्वीकार गर्ने देसले प्रत्येक व्यक्तिका लागि २१,००० डलर तिर्नुपर्नेछ । यो योजनामा हंगेरी र पोल्याण्डले आपत्ति जनाएका छन् ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले गत हप्ता सरकारी टिभीलाई उनले यो योजना कार्यान्वयन नगर्ने बताए। जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले यो योजनामा विश्वास व्यक्त गर्दै यसले देशहरूलाई विकल्पहरू उपलब्ध गराएको दाबि गरेका छन् । रोयटर्स / एपी








प्रतिक्रिया