शुक्रबार, असार १३, २०८२

‘लकडाउन कडा बढाउनुप¥यो’

नेपालखोज २०७७ असार ७ गते १२:०४

घोडाघोडी । कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि लकडाउनलाई पुनः कडाइ बनाउन जनस्तरबाट सरकारलाई आग्रह गरिएको छ । लकडाउनले जनजीवन अस्तव्यस्त भएको भन्दै केही समयअघिसम्म खोल्न दबाब दिइरहेकाहरू अहिले यसलाई कडा बनाउन माग गर्न थालेका छन् ।

अत्तरिया उद्योग वाणिज्य सङ्घ र गोदावरी नगरपालिकाको आग्रहमा शनिबारदेखि सो नगरपालिकाको मुख्य बजार अत्तरिया अनिश्चितकालका लागि बन्द गरिएको छ । नगरपालिकामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको एक ४६ वर्षीय पुरुषको मृत्यु समेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै थप सङ्क्रमण फैलिन नदिनका लागि ती दुई निकायको आग्रहमा अनिश्चितकाका लागि बजार बन्द गरिएको नगरप्रमुख हरिसिंह साउदले बताए ।

बजार खोल्दा सङ्क्रमण बढी फैलन सक्ने हुँदा अनिश्चितकालीन रूपमा बजार बन्द गरिएको सङ्घका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

कैलालीकै घोडाघोडी नगरपालिकामा ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जनस्तरबाट लकडाउनलाई कडा बनाउनुपर्ने माग उठ्न थालेको छ । टोलटोलमा कोरोना सङ्क्रमित भेटिँदा पनि लकडाउन नहुनु दुःखद् भएको घोडाघोडी नगरपालिका–१ का व्यवसायी अनन्त जोशी बताउछन् । घोडाघोडी–१० का सन्तोष बराल पनि अहिलेको परिस्थितिमा लकडाउन बढाउनुको विकल्प नभएको जनाउछन् । सङ्क्रमण देखिएकाहरूलाई स्थानीय सरकारले जाँचै नगरी लक्षण नदेखिएको भन्दै घर पठाएको छ उनीहरू गाउँघरमा घुमिरहेका छन् यसले जोखिम बढाएको छ, त्यस कारण पनि लकडाउन बढाउनुपर्ने उनको भनाइ छ ।

नगरप्रमुख ममताप्रसाद चौधरी पनि लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्ने पक्षमा छन् । उनी भन्छन्, “सङ्क्रमणको जोखिम बढ्दो छ यसको रोकथामका लागि सरकार मात्र सजग भएर हुँदैन । हरेक नागरिक सचेत रहनुपर्छ । सर्वपक्षीय छलफलपश्चात के कसरी अघि बढ्ने भन्ने विषयमा कार्यपालिकाले निर्णण गर्छ ।”

लम्किचुहा नगरपालिकाले सर्वपक्षीय छलफल गरेर आवश्यक कदम चाल्ने नगर प्रमुख महादेव बजगाईँले बताए ।

प्रतिक्रिया