बदलिँदैछ संसारको अर्थतन्त्र

काठमाडाैं । रुसमाथि पश्चिमी मुलुकले लगाएको नाकाबन्दीपछि आफूलाई जोगाउन भन्दै विश्वमा सुनको भण्डार बढाउने देशको संख्या बढ्दै गएको छ । यो कुरा हालै गरिएको एक सर्वेक्षणमा यस्तो देखिएको हो । इन्भेस्को नामक संस्थाले केन्द्रीय बैङ्क तथा सम्पत्ति कोषको सर्वेक्षणका आधारमा यो प्रतिवेदन तयार गरेको हो ।
गत वर्ष वित्तीय बजारमा आएको उथलपुथलका कारण बिभिन्म देशका सरकारी कोषले ठुलो मार बेहोर्नुपरेको थियो । त्यसैले अब उनीहरू आफ्नो रणनीतिमा आमूल परिवर्तन गर्ने सोचमा छन् । यी परिवर्तन उच्च मुद्रास्फीति र भूराजनीतिक तनाव लामो समयसम्म रहने धारणामा आधारित छन् ।
इन्भेस्को ग्लोबल सोभरेन एसेट म्यानेजमेन्ट स्टडी नामक उक्त सर्वेक्षणमा ५७ वटा केन्द्रीय बैङ्क तथा ८५ वटा सरकारी लगानी कोषको सहभागिता थियो जसमध्ये ८५ प्रतिशतले यो दशकमा मुद्रास्फीति उच्च स्तरमा रहने महसुस गरेका छन् ।
सुन उत्तम विकल्प
यस्तो वातावरणमा उदीयमान बजारका सुन र ऋणपत्रलाई लगानीको राम्रो विकल्प मानिन्छ । यद्यपि गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गर्दा पश्चिमी देशहरूले उसमाथि प्रतिबन्ध लगाएका थिए र रुसको ६४० अर्ब अमेरिकी डलरको सुन तथा विदेशी मुद्रा भण्डार फ्रिज गरेका थिए । यो कुराले लगानीकर्ताको रणनीतिमा पनि असर गरेको छ । सर्वेक्षण प्रतिवेदनले रुसको मामिलामा स्थापित गरेको उदाहरणलाई लिएर ठुलो संख्याका केन्द्रीय बैङ्कहरू चिन्तित छन् ।
करिब ६० प्रतिशत बैङ्कले सुनको आकर्षण बढेको बताएका छन् भने ६८ प्रतिशतले विदेशी मुद्रा सञ्चिति विदेशमा लगानी गर्नुभन्दा स्वदेशमै राख्नु सुरक्षित भएको बताएका छन् । २०२० मा यसमा विश्वास गर्नेहरूको संख्या ५० प्रतिशत थियो। एक केन्द्रीय बैङ्कले भनेको छ – हाम्रो सुन पहिले लन्डनमा थियो तर हामीले यसलाई सुरक्षित राख्न घर ल्याएका छौं।
इन्भेस्कोका प्रमुख रड रिंगारो भन्छन् – सरकारहरूमा मसँग सुन छ भने मेरो घरमा हुनुपर्छ भन्ने धारणा विगत एक वर्षदेखि प्रबल भएको छ ।
डलरको आकर्षण घट्यो
भूराजनीतिक चिन्ता तथा उदीयमान बजारहरूमा बढ्दो अवसरले केन्द्रीय बैङ्कहरूलाई डलरबाट टाढा जान र अन्य लगानी विकल्पहरू हेर्न प्रेरित गरिरहेको छ। यसमा अमेरिकाको ७ प्रतिशतको दरले बढ्दो ऋणले पनि योगदान गरिरहेको छ ।
विश्व मुद्राका रूपमा डलरको विकल्प नहुने अधिकांश मानिसको विश्वास छ । वास्तवमा युआनलाई डलरको विकल्पका रूपमा प्रयोग गर्ने मानिसहरूको संख्या गत वर्षको २९ प्रतिशतबाट १८ प्रतिशतमा घटेको छ ।
अहिले चीन, बेलायत र इटाली लगानीका लागि सबैभन्दा कम आकर्षक देशको सूचीमा परेका छन् भने अनलाइन सपिङ र कोभिड–१९ को समयमा घरबाटै काम गर्ने मानिसको संख्यामा भएको वृद्धिले घर- जग्गा जस्तो सम्पत्ति अहिले सबैभन्दा कम आकर्षक व्यक्तिगत सम्पत्ति भएको छ ।
रिंगारो भन्छन् – गत वर्ष राम्रो काम गर्ने सम्पत्ति कोषहरूले आफ्नो पोर्टफोलियोको अधिक मूल्याङ्कन गर्ने खतरालाई चिनेका थिए र उनीहरूको लगानीलाई विविधीकरण गरेका थिए । यो क्रम अझै जारी रहनेछ । कोष तथा केन्द्रीय बैङ्कहरू अब उच्च मुद्रास्फीति दरसँग बानी परेका छन्,रिंगरो भन्छन् – यो सबैभन्दा ठुलो परिवर्तन हो।
-रोयटर्स








प्रतिक्रिया