आइतबार, पुष ६, २०८२

के भन्छ ग्लोबल पिस इन्डेक्सले ?

नेपालखोज २०८० साउन ४ गते १६:२७

गत वर्ष विश्वभर द्वन्द्वका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ३८ हजार नाघेको थियो । यस अर्थमा द्वन्द्वमा ज्यान गुमाउनेहरूको सङ्ख्याका हिसाबले वर्ष २०२२ विगत तीन दशकयताकै सबैभन्दा घातक वर्ष बनेको छ । यसअघि सन् १९९४ मा द्वन्द्वमा परी यती धेरैले ज्यान गुमाएका थिए । त्यो वर्ष रुवान्डामा नरसंहार भएको थियो । २१ औँ शताब्दीमा एक वर्षभित्र यति धेरै मानिसले ज्यान गुमाएका थिएनन् ।

लन्डनको अर्थशास्त्र र शान्ति संस्थानले ग्लोबल पिस इन्डेक्स जारी गर्दै उक्त कुरा बताएको हो। यो सूचकाङ्क १६३ देशका २३ गुणात्मक र परिमाणात्मक सूचकका आधारमा तयार पारिएको हो । यस मार्फत सबैभन्दा कम शान्तिपूर्ण देश पत्ता लगाइन्छ । यो सूचकाङ्कका अनुसार विश्व लगातार ९औँ वर्ष पनि अशान्तितर्फ उन्मुख छ । जहाँ बढी मृत्यु भएको छ इथियोपियाको टिग्रेमा चलिरहेको द्वन्द्वले गत वर्ष सबैभन्दा बढी ज्यान लियो ।

सन् २०२२ मा भएको सङ्घर्षमा एक लाखभन्दा बढी मानिसले ज्यान गुमाए । यसमा इथियोपिया र इरिट्रियाका सेना र विद्रोहीबिचको द्वन्द्वमा भन्दा भोकमरीका कारण बढी मानिसको मृत्यु भएको थियो । यी दुवै कारणले त्यहाँ भएको मृत्युमा दुई गुणा भिन्नता छ। त्यसपछि युक्रेनमा रुसी सेनाको आक्रमणमा मारिनेको सङ्ख्या बढी छ । २०२२ मा युक्रेन युद्धमा कम्तीमा ८२,००० मानिस मारिएका छन्। आइईपी (IEP ) विज्ञहरूले युक्रेनमा २० देखि २४ वर्ष उमेर समूहका ६५ प्रतिशत पुरुष लडाइँमा मारिएका वा भागेको अनुमान गरेका छन्।

३० प्रतिशतभन्दा बढी युक्रेनी आफ्नै देश वा अर्को देशमा शरणार्थी बन्न बाध्य छन् । ग्लोबल पिस इन्डेक्समा आन्तरिक वा बाह्य द्वन्द्व, हत्या दर, सैन्य करणको डिग्री, हतियार निर्यात, आतङ्कवाद, राजनीतिक अस्थिरता र कैदीहरूको सङ्ख्यालाई ध्यानमा राखिएको सूचकहरू समावेश छन्। यसले सशस्त्र द्वन्द्वको आर्थिक लागत पनि मूल्याङ्कन गर्दछ। गत वर्ष यस्तो युद्धको मूल्य १७.५ हजार बिलियन अमेरिकी डलर थियो जुन सम्पूर्ण विश्वको कुल ग्राहस्थ उत्पादनको लगभग १३ प्रतिशत हो ।

संसारमा सबैभन्दा समस्याग्रस्त देश अफगानिस्तान, इराक र सिरियाका युद्धहरू पछि युक्रेन यसमा थपिएको देश हो । आइईपीका संस्थापक तथा कार्यकारी अध्यक्ष स्टीव किलेलिया भन्छन् – युक्रेन युद्धले पनि के स्पष्ट पारेको छ भने विश्वको सबैभन्दा शक्तिशाली सेनाले पनि राम्रो स्रोत भएको स्थानीय जनसङ्ख्यालाई जित्न सक्दैन । आईईपीद्वारा जारी विज्ञप्तिमा किलेलियाले भनेका छन् – युद्ध धेरै हदसम्म अजेय भएको छ र यसको आर्थिक बोझ बढ्दै गएको छ।

मिडिया रिपोर्ट अनुसार अमेरिका, रुस, जर्मनी, फ्रान्स र चीन अर्थात् पाँच देशले मात्रै विश्वभर यस्ता युद्धमा खपत हुने एक तिहाइ हतियार निर्यात गर्छन्। यता आइसल्यान्ड, डेनमार्क र आयरल्यान्ड विश्वमा सबैभन्दा शान्त देश हुन् भने अफगानिस्तान, यमन र सिरिया सबैभन्दा बढी अशान्त छन् । यो सूचीमा जर्मनी १५ नम्बरमा छ जुन पहिलेको तुलनामा दुई स्थान बढी हो।

यसैगरी अस्ट्रिया र स्विट्जरल्याण्ड पाँचौँ र दशौँ नम्बरमा छन् । अफगानिस्तान पुछारमा अर्थात् १६३ नम्बरमा छ भने त्यसपछि यमन, सिरिया, दक्षिण सुडान, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, रुस र त्यसपछि युक्रेन छन् । रुस तीन स्थान तल झरेको छ भने युक्रेन १४ स्थान तल झरेको छ । -डीपीए

प्रतिक्रिया