स्व. बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । बहुआयामिक प्रतिभाका धनी स्व. बखतबहादुर चित्रकारको स्मृति ग्रन्थ लोकार्पण गरिएको छ । स्व. चित्रकारको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा चित्रकारको परिवारद्वारा प्रकाशन गरिएको ‘बखतबहादुर शब्दचित्र स्मृति ग्रन्थ’ आज विमोचन गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस)का आलेख समाचार प्रमुख कृष्ण अधिकारीको लेखनमा आएको उक्त स्मृति ग्रन्थमा लेखकले बखतबहादुरसँग गरेको कुराकानी, आलेख, उनका केही लेख र अन्तर्वार्ता, उहाँबारे विभिन्न व्यक्तित्वले लेख्नुभएका लेख तथा तस्बिरहरू समावेश गरिएको छ । राजधानीकै बासिन्दा भएर पनि आर्थिक अवस्था कमजोर भएका स्व बखतबहादुरले गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरिएको छ ।
काठमाडौंको सामान्य परिवारमा जन्मिएका स्व. चित्रकारले नेपालको शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको साहित्यकार चेतनाथ कँडेल बताउछन् । विसं १९८७ माघ १८ मा काठमाडौंको याट्खा टोलमा जन्मिएका स्व. बखतबहादुरले नेपालमा दश जोड दुई शिक्षा प्रणालीको आरम्भ गरेका थिए ।
चलचित्र संस्थानका जन्मदाता उनले थेरवादी केन्द्रीय दायक परिषद् (विसं २०४९) का अध्यक्ष, चित्रकार(पुँ) समाजका संस्थापक अध्यक्ष, नेपालमा व्यवस्थित ढङ्गबाट बुद्धजयन्ती मनाउने कामको थालनी, विजयादशमीका दिन ‘शस्त्रास्त्र परित्याग दिवस’को सुरुआतकर्ता, इन्द्राणयी मन्दिर, काठमाडौँमा ‘अशोक स्मृति चैत्य’ स्थापनाकर्ता, थेरवादी बुद्ध विहार, लुम्बिनीमा पाली, नेपाली र अङ्ग्रेजीमा ‘धम्मपद’ उत्कीर्णकर्तालगायतका सामाजिक काम गरेका थिए ।
प्रतिक्रिया