आइतबार, पुष ६, २०८२

तालिबान कब्जा पछि एक हजार भन्दा बढी सर्वसाधारण मारिए

नेपालखोज २०८० साउन ८ गते १२:५७

काठमाडौं । संयुक्त राष्ट्र संघले भनेको छ कि तालिबानले अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मारिनेहरुको संख्या अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।

संयुक्त राष्ट्र नियोग (यूएनएएमए) को प्रतिवेदन अनुसार युद्ध र आतंकवादको युगको तुलनामा अफगानिस्तानमा ज्यान गुमाउनेहरुको संख्यामा उल्लेख्य कमी आए पनि मुलुकको अवस्था सुध्रिइसकेको भने छैन

त्यस्ता हत्याको चक्र अझै चलिरहेको छ र अफगानिस्तानका विभिन्न प्रदेशमा भएका घातक आक्रमणका कारण सर्वसाधारण मारिने वा घाइते भैरहेका छन् । यूएनएएमएको नयाँ प्रतिवेदनले यो वर्षको मे महिनाको अन्त्यसम्ममा तालिबान सत्तामा फर्किएपछि घातक हमलाहरूमा १,०९५ सर्वसाधारण मारिएको तथा ३,७७४ घाइते भएको जनाएको छ । यो तथ्याङ्कको तुलनामा तालिबान सत्तामा फर्कनुअघि २०२० मा त्यस्ता आक्रमणमा कुल ३,०३५ अफगान नागरिक मारिएका थिए भने ८,८२० घाइते भएका थिए।

संयुक्त राष्ट्रसंघका अनुसार अगस्ट २०२१ देखि मे २०२३ सम्म अफगानिस्तानमा भएका तीन चौथाई आक्रमणहरू आईईडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) विष्फोटबाट भएका थिए । यसमा भीडभाड हुने बजार, विद्यालय तथा धार्मिकस्थललाई बम प्रहारको निशाना बनाइएको थियो । २१ महिनाको अवधिमा रक्तपातपूर्ण हमलामा मारिएका अफगान नागरिकमध्ये ९२ जना महिला तथा २ सय ८७ जना बालबालिका रहेको प्रतिवेदनले जनाएको छ ।

यो प्रतिवेदन सार्वजनिक भए सँगै अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघका अधिकारीहरूले पनि विज्ञप्ति जारी गरेका थिए । विज्ञप्तिमा भनिएको छ – मुख्यतया शिया हजारा समुदायलाई लक्षित गरी विद्यालय, शैक्षिक संस्था तथा अन्य स्थानहरूमा भएका आक्रमणमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा तालिवानको दोस्रो कार्यकालमा गरिएका धेरैजसो घातक हमलाको जिम्मेवारी इस्लामिक स्टेटको स्थानीय आतंकवादी शाखाले लिएको थियो जसलाई इस्लामिक स्टेट अफ खोरासान भनिन्छ।

हालको अफगानिस्तानमा रहेको आईएसआईएसको यो क्षेत्रीय शाखा तालिवानको मुख्य कट्टरपन्थी प्रतिद्वन्द्वी सुन्नी मुस्लिम संगठन हो ।

एएफपी / रोयटर्स

प्रतिक्रिया