तीन हजार कार बोकेको कार्गो जहाजमा आगलागी

नेदरल्यान्ड । नेदरल्यान्ड्सको तटीय क्षेत्रमा करिब तीन हजार कार बोकेको एक कार्गो जहाजमा भीषण आगलागी भएको छ । उक्त दुर्घटनामा एक भारतीयको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने भारतीय जहाज चालक दलका सदस्य थिए । डच कोस्ट गार्डले आगो निभाउने प्रयास जारी रहेको र यसका लागि अझै केही दिन लाग्नसक्ने कुरा बताएको छ ।
१९९ मिटर लामो पनामाको उक्त कार्गो जहाज फ्रेमेन्टल हाइवे जर्मनीबाट इजिप्ट जाँदै थियो । गत मंगलबार राति नेदरल्याण्डको तट नजिकै जहाजमा आगलागी भएको थियो । रिपोर्टमा बताइए अनुसार यो दुर्घटना डच टापु एमल्यान्डबाट २७ किलोमिटर टाढा रहेको युनेस्कोको विश्व सम्पदा स्थल द वाडेन सी नजिक छ । विशेष कुरा के छ भने दुर्घटना भएको स्थान संसारभरका प्रवासी चराहरूका लागि निकै महत्वपूर्ण ठाउँ हो ।
दुर्घटनाको तस्विरमा जहाजबाट धुवाँ निस्किरहेको देखिन्छ । मालवाहक जहाजमा भएका विद्युतीय कारमध्ये कुनै कारबाट यो आगलागि सुरुभएको हुनसक्ने अनुमान गरिएको छ जसले फैलिएर भयावह रूप लिएको छ । दमकलका कर्मचारीहरु आगो निभाउने काममा लागे पनि १६ घण्टा बितिसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन ।
हालसम्म अग्निनियन्त्रक कर्मचारीहरु जहाजमा चढ्न नसकेको र मेसिनको सहायताले पानी हालेर आगो निभाउने प्रयास भैरहेकाले आगो निभाउन अझै केही दिन लाग्न सक्ने बताइएको छ । यद्यपि अत्याधिक पानी भरिएका कारण जहाज डुब्ने खतरा पनि उत्तिकै छ । यही कारणले गर्दा यो जहाजको आगो निभाउनु निकै चुनौतीपूर्ण रहेको बताइँदैछ ।








प्रतिक्रिया