शनिबार, पुष ५, २०८२

चिनमा बाढीले विनास

नेपालखोज २०८० साउन २५ गते ६:५४

बेइजिङमा आएको बाढीबाट लाखौं घरमा ठूलो क्षति पुगेको छ । सरकारि अधिकारीहरूका अनुसार त्यहाँ पाँच जना उद्धारकर्मी बाहेक अन्य १८ जना सर्वसाधारणको मृत्युु भैसकेको छ । लगातारको अविरल वर्षाका कारण हालसम्म सहरमा करिब ५९ हजार घर भत्किएका छन् । यससँगै करिब १ लाख ५० हजार अन्य घरमा क्षति पुगेको छ । नगर प्रशासनका अनुसार ३७ हजार एकडभन्दा बढी खेतीयोग्य जमिन बाढीको चपेटामा परेको छ ।

बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा सयभन्दा बढी पुलसहित सयौं सडकमा क्षति पुगेको बताएका छन । राहत र उद्धार कार्य जारी रहेको पनि उनले जानकारि दिए । जियाले क्षतिको स्तर हेर्दा स्थिति पूर्ण रूपमा सामान्य हुन तीन वर्ष लाग्न सक्ने कुरा समेत जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा मेन्टौगु र फन्शान जिल्ला समावेश छन् । यी दुबै शहरको केन्द्रबाट केही किलोमिटर मात्र टाढा छन् जहाँ देशका धेरै ठूला नेताहरूको घर छ ।

अन्य क्षेत्रमा पनि बाढी

चीनका अन्य धेरै भागले समेत ठूलो बाढीको सामना गरिरहेका छन् । यो आंशिक रूपमा सप्ताहन्तमा आएको तूफान डोक्सरीको प्रभाव हो। डोक्सरीका कारण दर्जनौं मानिसको मृत्यु भैसकेको छ भने कैंयन बेपत्ता भएका छन् । सबैभन्दा भीषण बाढी बेइजिङको ठीक बाहिर हेबेई प्रान्तको क्षेत्रमा देखिएको छ । यता बेइजिङको दक्षिणपश्चिममा पर्ने झुओझोउमा बाढीको पानी कम हुन थालेको छ । बाढीका कारण त्यहाँ बसोबास गर्ने करिब १ लाख २५ हजार मानिस आफ्नो घर छाड्न बाध्य भएका थिए । तीमध्ये केही अहिले घर फर्किसकेका छन् ।

सरकारि समाचार एजेन्सी सिन्ह्वाका अनुसार दक्षिणपश्चिमी सिचुआन प्रान्तको एउटा रिसोर्टमा करिब एक दर्जन पर्यटकलाइ बाढीले बगाएको छ ।

कतै घाम कतै पानी

उत्तरी चीनमा जुलाईको अन्त्यदेखि सुरुभएको भारी वर्षाले लाखौं मानिसको जनजीवन प्रभावित तुल्याएको छ भने अर्कातर्फ धेरै क्षेत्रहरू चर्को गर्मी र खडेरीसँग लडिरहेका छन् । यो मानिसहरूको स्वास्थ्यका लागि मात्र होइन शरदे बालीका लागि समेत हानिकारक छ ।

यसअघि उत्तरपूर्वी प्रान्त जिलिनको शुलान सहरमा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता भएका थिए । उक्त प्रदेशमा लगातार पाँच दिनदेखि परेको वर्षाका कारण सडक खोलामा परिणत हुँदा हजारौं मानिस विस्थापित भएका छन् । उत्तरी हेइलोङजियाङ प्रान्तमा पनि नदीहरू आफ्नो किनारा छोडेर बगिरहेका छन् ।

चीनको इतिहासमै सबैभन्दा भयानक र विनाशकारी बाढी सन् १९९८ मा आएको थियो जसमा ४ हजार १ सय ५० जनाको ज्यान गएको थियो जसमध्ये धेरैजसो याङजी नदीको किनारका बासिन्दा थिए । त्यस्तै २०२१ मा मध्य प्रान्त हेनानमा बाढीका कारण ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

स्रोत : एपी

प्रतिक्रिया