बिजनेस नभएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी । बिजनेस नभएपछि आज दिउँसो १ः०० बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक यही साउन २९ गतेसम्मका लागि स्थगन भएको छ । विशेष कारण जनाउँदै सूचना टाँसेर बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । आज बस्ने बैठकमा विषयगत समिति गठनबारे छलफल हुने जनाइएपछि दलहरूको आन्तरिक तयारी नपुगेका कारण सो विषय थाँती रहेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए ।
उनले तयारीबिनै प्रदेशसभा बैठक निर्धारण गरिएको र सरकारले बिजनेस दिन नसकेको धारणा राखे । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एमालेले विषयगत समितिमा रहने सदस्यको नामावली नबुझाएका कारण समिति गठनको प्रक्रिया लम्बिएको बताईन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले भने समितिमा बस्ने सदस्यको नाम टुङ्ग्याइसकेका छन् ।
प्रतिक्रिया