संस्कृति र पहिचान झल्कने घर नासिँदै

मन्थली । झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो ।
कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रङ्ग्याइएका हुन्थे । मगर, हायुँ, तामाङ, नेवार र अन्य जातिको घरको बनावट र सजावटले परैबाट हेर्दा चिनिन्थ्यो । तर २०७२ सालको विनाशकारी भूकम्पपछि ती घरसँगै पहिचान पनि नासिएर जान लागेको छ ।
भूकम्पपछि निर्माण भएका घर एउटै मापदण्डको बनाउनुपर्ने भएपछि अब के तामाङ, के माझी, के क्षेत्री, सबैको एकै रङ र बनावट हुने गरेको छ । भूकम्पपछिको पुनःनिर्माणले पहिलेका परम्परागत पहिचान र संस्कृति झल्कने घर कसैको प्राथमिकतामा परेन । सबैले एकै खालको घर बनाउन हुटहुटी गरे ।
हामीले बुझेनौँ या बुझाउनेले समयमा बुझाइदिएन, ‘सुनापति गाउँपालिकाका पूर्वअध्यक्ष धावा लामा भने, ‘अहिले बुद्धि आयो, घर बिग्रिए । पहिचान गुम्यो । अहिले सबै सिमेन्ट दलेका र आधुनिक रङ पोतेका घर भए ।’
‘तामाङलाई तामाङ संस्कृति अनुकूलको घर चाहिन्थ्यो’, उनले भने, ‘तामाङका घरमा झिँगटीको छाना हुन्थ्यो, झ्यालमा पनि पाली हुन्थ्यो, पूर्व फर्किएकै हुन्थ्यो, अहिले त्यो केही पनि छैन । प्राविधिकले झिँगटी गह्रौँ भनिदियो, दुई तला लानै दिएन । भूकम्पपछि हामीले बनाएका घर फरक भए । तामाङ समुदायलाई आफ्नो जातीय अनुकूलका भएनन् ।
फरक फरक समुदायका घर त्यै त्यै अनुसारका हुन्थे । अहिले सब एकनासका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको नक्साभन्दा यताउता नगरी घर बनाउँदा जातीय संस्कृति अनुकूलका घर बन्न सकेनन् ।
‘भूकम्प प्रतिरोधी मापदण्ड कायम गरेर पनि हाम्रो जातीय अनुकूलताका घर बनाउन सकिने रहेछ, त्यो कुरा कसैले भनिदिएन’, दोरम्बा–७ लखनपुरका प्रदीप मोक्तान भने, ‘पैसा सकियो, घर बिग्रियो, पहिचान पनि गुम्यो ।’ वि.सं २०७२ को विनाशकारी भूकम्पले भत्काएका रामेछापका करिब ५८ हजार घरको लगभग पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण भएकामध्ये झण्डै ७५ प्रतिशत घर दुई कोठे बनेका छन् ।
केहीले एक कोठे र केहीले तीन कोठे बनाएका छन् । प्राधिकरणले दिएको अनुदानको भरथेगमा जिल्लामा झण्डै १० प्रतिशतले भने पक्की घर निर्माण गरेका छन् । प्राधिकरणले दिएको नमूना नक्सामा एक कोठेदेखि दुई तले र बहुकोठे घर पनि थिए । ती नक्सामा कसैले चासो दिएनन् । भवन निर्माणका लागि दिएको अनुदानबाट पुग्ने र अनुदान नै बचाउने गरी सानाभन्दा साना घर बनाउने होड नै चलेकाले पनि परम्परागत शैली हराउन पुग्यो ।
प्रतिक्रिया