बिहीबार, वैशाख २०, २०८१

उपनिर्वाचनले प्रहरीको सरुवा– बढुवा रोकियो

नेपालखोज २०७६ कार्तिक १९ गते १४:०२

१९ कार्तिक, काठमाडौं । निर्वाचन आचारसंहिताका कारण नेपाल प्रहरीको सरुवा बढुवा प्रभावित भएको छ । चार एसएसपीसहित प्रहरीमा सयौं पदहरु रिक्त छन् ।

गत ७ असोजको मन्त्रिपरिषद्को बैठकले प्रहरीको तीन हजार पाँच सय ९६ दरबन्दी थप नयाँ दरबन्दी स्वीकृत गरेको थियो । थप भएको दरबन्दीमा बढुवा हुन सकेको छैन । थप केही पदहरु अवकाशका कारण रिक्त भएका छन् ।

सरकारले तीन एसएसपी, चार एसपी, २१ डिएसपी, ४७ इन्सपेक्टरको दरबन्दी थप गरेको थियो । तीन एसएसपीमध्ये एक प्राविधिक हुन् । प्रहरी संगित बिद्यालयमा एसएसपीको दरबन्दी सिर्जना गरिएको छ । त्यस्तै एक गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा अर्काे प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो । एसपीमा चार दरबन्दीमध्ये दुई सिभिल इन्जिनियरीङतर्फको छ । बाँकी दुईमध्ये एक पर्यटक प्रहरी तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि थपिएको थियो ।

८६ जना प्रहरी नायब निरीक्षक(सई), दुई सय ९७ सहायक प्रहरी निरीक्षक(असई), ६ सय ८३ हवल्दार, दुई हजार दुई सय १६ जवान र दुई सय ४२ कार्यालय सहयोगीको दरबन्दी थप गरिए पनि पदपूर्ति हुन सकेको छैन ।

प्रहरीमा पहिलेदेखि नै एसएसपीको एक पद रिक्त थियो । जसअनुसार प्रशासनतर्फ एसएसपीका तीन पदमा बढुवाका लागि एक दर्जन एसपीहरु दौडधुपमा छन् । तल्लो तहका बढुवाको पनि तयारी भइरहेको छ ।

त्यस्तै डिआईजी लगायत विभिन्न तहको सरुवाको समेत तयारी भइरहेको छ । त्यसका लागि निर्वाचन आयोगसँग सहमति लिनुपर्ने हुन्छ । सहमतिका लागि प्रयास भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ । नयाँ भर्नाको प्रक्रिया समेत प्रहरी प्रधान कार्यालयले अघि बढाएको छ ।

प्रतिक्रिया