आइतबार, वैशाख १४, २०८२

लकडाउनमा नेपाली चलचित्र प्राविधिकहरुकाे अवस्था दयनीय

नेपालखोज २०७७ असार १७ गते १४:४५

काठमाडौँ । कोरोना महामारीका कारण गरिएको लकडाउनले नेपाली चलचित्र जगत प्रभावित हुँदा यसमा आवद्ध व्यक्तिहरु समस्यामा परेका छन् । विशेषगरी पर्याप्त पारिश्रमिक नपाउने व्यक्तिहरु यसको प्रभावमा परेका हुन् । नेपाली सिनेमा उद्योगमा प्राविधिकले सामान्य अवस्थामा पनि न्यून पारिश्रमिक पाउँछन् । त्यो पनि समयमा कहिल्यै पाएनन् । लकडाउनका कारण त झन् उनीहरु अझै मारमा परेका छन् ।
१८ वर्षदेखि सहायक सिनेम्याट्रोग्राफरको काम गर्दै आएका रौतहटको गुजरा नगरपालिका निवासी नवराज कार्कीले काम सुरु हुने अनिश्चित बनेपछि आफू गाउँ फर्किएर कुखुरापालन गर्ने सोच बनाएको बताए ।

तर, अवस्था सामान्य बने यही क्षेत्रमै काम गर्न पाउने आशा उनको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले चलचित्र प्राविधिकहरुले यतिवेला दैनिक जिविका चलाउने काम नै रोकिएपछि उनीहरुको जिविकोपार्जनमै समस्या भएको छ ।

उनले चलचित्र क्षेत्रमा अन्य जस्तो लकडाउन खुल्ने वित्तिकै सहज परिस्थिति नहुने बताए । यस क्षेत्रमा रहेका प्राविधिकहरुको लागि सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने अध्यक्ष लामाले बताए । लामो समयदेखि चलचित्र तथा भिडियो छायांकन गर्दै आएका काठमाडौं निवासी विकास श्रेष्ठ भने लकडाउन खुकुलो भएसँगै छिटफुट कामहरु गर्न थालेको बताए ।

अहिले केही औंलामा गन्न मिल्ने प्राविधिकले मात्रै म्युजिक भिडियो र टेलिसिरियलहरु निर्माण गरेर जिविकोपार्जन गरिरहेका छन् । धेरै प्राविधिकहरुको अवस्था भने नाजुक रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

चलचित्र प्राविधिक संघका अनुसार हाल करिब ३५ सय जनाले यो पेशा अपनाएका छन् । उनीहरु मारमा पर्दा उनसँग आश्रीत परिवार पनि मारमा पर्ने नै भयो । संघको पहलमा त्यसरी समस्यामा परेकाहरुलाई केही राहत वितरण गरेको भएपनि त्यो प्रर्याप्त नभएको संघले जनाएको छ ।
एउटा चलचित्र सफल हुन सामान्यतः कथा, पटकथा, निर्देशन अनि कलाकारले निर्वाह गरेको भूमिकालाई प्रमुख मान्ने गरिन्छ । तर, यसमा अन्य धेरै पक्षहरू छन् जसले एउटा चलचित्र सफल बनाउन उत्तिकै मेहेनत र भूमिका निर्वाह गरेका हुन्छन् । चलचित्रमा मेकअप, क्यामेरा, लाइट, भेषभुषा, सम्पादन चलचित्रका गौण तर महत्वपूर्ण पाटाहरू हुन् । यी क्षेत्रमा काम गर्ने प्राविधिकहरूको देन पनि कम आंकलनयोग्य छैन तर सँधै नजानिँदो हिसाबले मारमा परेका उनीहरुलाई कोरोना महामारीले झनै बिचल्ली बनाएको छ ।

प्रतिक्रिया