सशक्त महिला समूहको तिज विशेष कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै कपनमा सशक्त महिला समूहले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
गत शनिवार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन आकाशे धारामा सशक्त महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा वडा अध्यक्ष नवराज भट्टराई , वडा सदस्य रिता दाहाल र सशक्त महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
तिज विशेष कार्यक्रमको उद्घाटन वडा अध्यक्ष नवराज भट्टराईले गरेका थिए । कार्यक्रमको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा कोभिड १९ का कारण राम्रोसँग मनाउन नपाएको तिज विशेष कार्यक्रम यो पटक भव्य र उल्लासमय वातावरणमा पर्व मनाउने अवसर प्राप्त भएको बताए ।
कार्यक्रममा महिलाहरूलाई आत्मनिर्भर बनाउन वडाबाट दिइने स्वरोजगार तालिमहरूका बारेमा जानकारी दिँदै वडा सदस्य रिता दाहालले महिलाहरूलाई निडर हुन प्रेरित गरिन् । उनले सबैभन्दा पहिला आफू सशक्त र स्वस्थ बन्नु पर्ने बताइन् । कहिलेकाहीँ आत्मनिर्भर र शिक्षित हुँदाहुँदै पनि नसोचेको घटना घट्ने हुँदा महिलाका समस्याहरू महिला समूहमा पुग्यो भने ठुलै दुर्घटनाबाट बच्न सकिने भन्दै महिला समूहको धेरै महत्त्व रहेको बताइन् ।
कार्यक्रममा सशक्त महिला समूहकी अध्यक्ष उमा पुरिले संस्थाको उद्देश्य र योजनाका बारेमा जानकारी दिँदै तिज पर्वले पछिका पुस्तालाई संस्कार र संस्कृति सिकाउने हुँदा तिज विशेष कार्यक्रम गरिएको र हरेक पर्व सु सभ्य तरिकाले मनाउनु पर्ने बताइन् ।
कार्यक्रममा पूर्वी पहाडमा प्रचलित सँगिनी भाकामा सशक्त महिला समूहका सदस्यहरूले नारी मनका विरहलाई नृत्य सङ्गै प्रस्तुत गरेकी थिइन् । कवि एलिसा ढुङ्गानाले वर्तमान कि छोरी शीर्षकको कविता वाचन गर्दै मन्त्रमुग्ध बनाइन् । सशक्त महिला समूहकी अध्यक्ष उमा पूरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य एलिसा ढुङ्गानाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण सृजना बरालले गरेकी थिइन् ।
प्रतिक्रिया