शुक्रबार, पुष ४, २०८२

चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै

नेपालखोज २०८० भदौ २१ गते ११:३९

काठमाडाैं । चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहनु भएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार घोषणा गरेका हुन् ।

उत्तर कोरियाली अधिकारीहरूले पनि चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यसै साता प्योङयाङको भ्रमणमा जाने बताएका छन् । उत्तर कोरियाले पर्सी शनिबार प्योङयाङमा ७५ औँ स्थापना दिवस विशेष समारोह आयोजना गर्दैछ । त्यस अवसरमा आणविक शक्तिराष्ट्रले विशाल सैन्य कवाजसमेत आयोजना गर्ने सम्भावन रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार बेइजिङबाट प्योङयाङ प्रस्थान गर्नेछ ।

बेइजिङ उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी एवं आर्थिक साझेदार हो । सन् १९५० को दशकदेखि नै दुवै देशबीचको मैत्री सघन भएको हो । उत्तर कोरियाले कोभिड–१९ महामारीका बेला आफ्नो अन्तरराष्ट्रिय सिमाना बन्द गरेपछि बाह्य विश्वसँगको सम्बन्ध र भ्रमण आदानप्रदान शून्यप्रायः भएको थियो ।

प्रतिक्रिया