सत्तरी गोही शहरमा छिरेपछि सुरक्षाका लागि खोजी जारी

बेइजिङ । चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
गत हप्ता दक्षिणी चीनमा आएको आँधीका कारण ठूलो वर्षा भएपछि हङकङ र अन्य क्षेत्रमा डुबान भएको थियो । गुआङडोङ प्रान्तको माओमिङ शहर वरपर बाढी र डुवान हुँदा एउटा व्यावसायिक गोही फार्म सञ्चालन गरिएको तालबाट ७० भन्दा बढी गोही भागेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्थानीय आपतकालीन व्यवस्थापन कार्यालयमा फोनको जवाफ दिने एक व्यक्तिले मङ्गलबार एएफपीलाई बताएअनुसार अधिकारीहरूले सरीसृपको उद्धारका लागि काम गरिरहेका छन् । ती व्यक्तिले अझै कति जनावर खुला अवस्थामा छन् वा अहिलेसम्म कुनै पनि फेला परेका छन् कि छैनन् भन्नेबारे केही बताएनन् ।
राज्य समर्थित बेइजिङ न्यूजले प्रकाशित गरेको एक भिडियोमा रातो पोसाक लगाएका उद्धारकर्मीहरूले उद्धार डुङ्गामा बाढीले भरिएका खेतहरू खोजिरहेको देखाइएको छ ।
प्रतिक्रिया