जापानमा १०० वर्षभन्दा माथिका मानिसको संख्या ९२ हजार

ज्येष्ठ नागरिकको सङ्ख्यामा जापान अन्य देशभन्दा अगाडि छ । जापान सरकारको स्वास्थ्य विभागले जारी गरेको नयाँ तथ्यांकले अहिले देशमा उनीहरुको संख्या ९२ हजार १ सय ३९ पुगेको देखाएको छ ।
पछिल्लो एक वर्षमा सय वर्षभन्दा माथिका व्यक्तिको सङ्ख्यामा १ हजार ६ सय १३ जना थपिएका छन् । चीन र जापान मात्र एसियाका दुई देश हुन् जहाँ जनसंख्या घट्ने चिन्ता छ ।
८८ प्रतिशत महिला
पछिल्लो सर्वेक्षण अनुसार शताब्दी वर्षका ८८ प्रतिशत महिला छन् । जापानमा महिलाको ओषत आयु ८७ वर्ष र पुरुषको ८१ वर्ष छ । सन् १९६३ मा पहिलो पटक जापानमा १०० वर्षभन्दा माथिका मानिसको गणना गरिएको थियो । त्यतिबेला यो संख्या १५३ थियो। १९९८ मा यो संख्या १० हजार नाघेको थियो ।
१० हजारदेखि ५० हजारको आँकडा पार गर्न १४ वर्ष मात्र लागेको थियो र यो कोसेढुङ्गा २०१२ मा हासिल भएको थियो । जसरी वर्षेनी बढ्दै गएको यो संख्या छिट्टै एक लाख पुग्ने अनुमान गरिएको छ । यद्यपि जनसङ्ख्याको यो तथ्याङ्कमा एउटा बोझ लुकेको छ जसले जापानका लागि नयाँ समस्याहरू खडा गरिरहेको छ ।
विगत केही दशकयता मानिसको उमेर वृद्धिसँगै यहाँको जन्मदर घट्दै गएको छ । फलस्वरूप काम गर्नेहरुको संख्या घटेको छ र अन्य कामसँगै वृद्धवृद्धाको हेरचाह गर्न निकै कठिनाई भैरहेको छ ।
जापानको घट्दो जनसंख्या
विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा वृद्धवृद्धाको संख्या अन्य औद्योगिक राष्ट्रको तुलनामा तीव्र गतिमा बढिरहेको छ । जापानको जनसङ्ख्या पनि कीर्तिमानी दरमा घटिरहेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष जापानको जनसंख्या ८ लाख १ हजारले घटेर १२ करोड २४ लाख पुगेको थियो ।
जनसङ्ख्याको तथ्याङ्क रेकर्ड गरिएयता कुनै पनि देशको जनसंख्यामा यो सबैभन्दा ठूलो कमी हो । जापानीहरू आफ्नो अधिकांश समय काममा बिताउँछन् र परिवार वा अन्य गतिविधिहरूका लागि त्यति समय हुँदैन, जसका कारण जनसंख्या द्रुत रूपमा घट्दै गएको छ ।
विगतका वर्षहरूमा जापान सरकारले श्रमजीवीहरूलाई सन्तान जन्माउन र हुर्काउनका लागि सुविधा दिन धेरै योजनाहरू थालेको छ तर, अहिलेसम्म त्यसको खासै नतिजा आएको छैन । राम्रो सुविधा र प्रविधिले मानिसको आयु बढाउँदै लगेको छ तर मानिसहरु सन्तान जन्माउन चासो दिइरहेका छैनन् । जनसंख्याको तथ्याङ्कअनुसार गत वर्ष त्यहाँ सात लाख बालबालिका मात्र जन्मिएका थिए ।
डीपीए








प्रतिक्रिया