शुक्रबार, पुष ४, २०८२

इजरायलमा भएको हमास आतंकवादी हमलामा सातजना नेपालीको मृत्यु

नेपालखोज २०८० असोज २१ गते १६:४८

शनिबार इजरायलमा भएको आतंकवादी हमलामा सातजना नेपालीको मृत्यु भएको छ । हमास आतंकवादी समूहको आक्रमणमा परी उनीहरूकाे मृत्यु भएको हो ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनी हमास आतंकवादी समूहले आक्रमण गरेकाे थियाे । इजरायलकाे सातजना नेपालीको मृत्यु भएको भनेर घोषणा गरेको हाे । घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएकाे छ ।

फार्ममा कार्यरत नेपालीहरु बंकरतर्फ जाँदै गर्दा एकाएक गोली लागेको र समयमा उपचार नपाएका कारण उनीहरूकाे मृत्यु भएकाे बताइएकाे छ ।

यसअघि इजरायलमा रहेकाे नेपाली दूतावासले १२ जना नेपाली सम्पर्कमा नआएकाे जनाएको थियाे । दूतावासले भने मृत्युबारे औपचारिक पुष्टि गरेकाे छैन । नेपाली राजदूत कान्ता रिजालले अवस्था भयावह रहेको तर अहिलेसम्म उद्धार हुन नसकेको बताएकी छन् ।

शनिबार बिहान ६ः३० बजेदेखि इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समूहबाट आक्रमण भएको थियो । सो आक्रमणबाट नेपालीबाहेक सयौंको संख्यामा मृत्यु भएकाे छ । घाइतेलगायत केही मानिस हमास समूहकाे नियन्त्रणमा छन् ।

इजरायलमा हाल ४५०० नेपाली कामदारका रूपमा छन् । त्यस्तै, २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लर्न एण्ड अर्न’ कार्यक्रमअर्न्तगत पढ्न गएका छन् ।

प्रतिक्रिया