आइतबार, वैशाख १४, २०८२

राजेश हमाललाई दर्शकले महानायक बनाए

नेपालखोज २०७७ असार ३१ गते १३:३०

काठमाडौं । सानो भएर पनि विवादको भुमरीमा परिरहने क्षेत्र नेपाली चलचित्र हो । बोल्न पाएँ भन्दैमा प्याच्च बोल्ने, आफ्नै देशको अञ्चल तथा जिल्लासमेत थाहा नपाउने नायिका पनि यही क्षेत्रमा छन् । बिचारै नगरी बोल्दा नेपाली चलचित्र क्षेत्रका नायिका स्वयम् विवादमा तानिएका उदाहरण हरु छन् । अर्काथरी भने लगानी पनि उठाउन नसकेको फिल्म हिट भएको देखाउन उत्सव मनाउँन पनि पछि पर्दैनन् । अर्काथरी यसबारे धारे हात लाउँदै अन्तरवार्तामा पेचिलो खण्डन गर्छन् । पारिश्रामिक, नायक नायिकाको प्रेम सम्बन्ध, बहुविवाहले समेत यो क्षेत्र जहिले पनि विवादित देखिन्छ । सुन पानी छर्के पनि चोखो नहुने गरी भएका यौन काण्डसमेत यो क्षेत्रमा समावेस छन् ।

पछिल्लो समय दिपाश्री निरौलाले नायक राजेशहमाल महानायक होइन भनेर दिएको अभिव्यतिmले राम्रै चर्चा पायो । यूट्यूवरले पनि राम्रै कमाइ गरे । हास्य कलाकार दिपकराज गिरी तथा निर्देशक राजेन्द्र खड्गीलगायत यो घटनामा मुछिए । सामाजिक सञ्जाल तथा फोनबाटै दर्शकले गालीको वर्षा गराएपछि दिपाश्रीले माफी नै मागिन् । त्यतिले पुगेन राजेश हमाल स्वयम्ले दिपाश्रीलाई गाली नगर्नुस भनेर अनुरोध समेत गरे । पहिलेदेखि नै विवादित रहेको महानायकको विषयलाई यसपटक भने दर्शकले टुंग्याउँनै प्रयास गरे ।

यस घटनाबाट दर्शकले राजेश हमाललाई महानायक बनाए । उनको चलचित्र क्षेत्रप्रतिको योगदान र उनलाई दर्शकले दिएको सम्मान अतुलनीय रहेको देखियो ।
कसैले फिल्म प्रचारपसार गर्न कृत्रिम विवाद सिर्जना गरेको देखिन्छ । टिममा झगडा परेको नाटकीय भिडियो बनाएर फिल्मको चर्चालाई अर्कै उचाइमा पुर्याउने गरेको पाइन्छ । नायिकाको पहिरनलाई लिएर विवाद बढाउने, नायक नायिकाको प्रेम सम्बन्धको झुटो चर्चा गर्ने जस्ता कुराले फिल्मको प्रचार गर्ने गरेको इतिहास छ ।

करिब ९० प्रतिशत नेपाली सिनेमाले आफ्नो लगानी पनि उठाउन सक्दैनन् । फिल्म निर्माणमा कथा, कलाकार र प्रविधिलाई खासै ध्यान दिइँदैन । नेपाली चलचित्र क्षेत्रलाई स्तरीय बनाउन निर्माण पक्ष गम्भीर देखिँदैन । कलाकार आफ्नो मौलिकतालाई भन्दा विदेशी तडकभडकमा रमाएको देखिन्छ । विदेशी ब्रान्डका कपडा, जुत्ताआदिको प्रदर्शन गर्दै अन्तरर्वार्ता दिन्छन् ।
नेपालको सांस्कृतिक तथा पर्यटकीय स्थलमा नेपाली कलाकारहरुले फोटो खिचेर सामाजिक सञ्जानमा हालेको विरलै मात्र पाइन्छ । तर, प्रत्येक नायिकाले विदेशमा खिचेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्छन् । खै त कलाकारले स्वदेशी उत्पादन र नेपाली संस्कृतिको कदर गरेको ?

दर्शकले नेपाली फिल्मलाई विदेशी फिल्मसँग तुलना गर्छन् । भाषा तथा बजार सानो भएकाले नेपाली फिल्म स्तरीय बनाउन नसकेको निर्माताको गुनासो छ । विदेशी चलचित्रको नक्कल गरी चलचित्र निर्माण गर्ने नेपालको पुरानो बानीका कारण यस्ता गुनासो सुन्नु परेको छ । तर, नेपालमा पनि कम बजेटका फिल्म र आफ्नै शैलीमा बनेका फिल्मले राम्रै व्यापार गर्न सफल भएका छन् । हलवालाहरुले पनि नेपाली फिल्मलाई सो नै नदिने पनि विवादको विषय छ । यस्ता समस्याको समाधान हुनुपर्ने देखिन्छ । विभिन्न कारण खस्किएको नेपाली चलचित्र क्षेत्र केही सुधारको बाटोमा लाग्दै गर्दा कोरोना माहामारीको कारण भएको लकडाउनले यस क्षेत्रलाई पनि असर पारेको छ । यो भुमरीलाई कसरी फड्को मार्ने र राम्रो चलचित्र कसरी दर्शकलाई दिने यो सबै पक्षहरुले हातेमालो गर्नुपर्ने कुरा हो ।

चलचित्र निर्माण पक्षको गुनासो चाहिँ दर्शक नेपाली चलचित्र हेर्न हलमा नआउने हो । निर्मतालाई बजार थाहा हुँदाहँुदै पनि विदेशी फिल्मको नक्कल गर्ने र रचनामा खासै मेहनत नगर्ने देखिएको छ । यो प्रायः नेपाली फिल्म हेर्दा महसुस हुने कुरा हो । नेपाली चलचित्र राम्रो बन्नु पर्छ । पक्कै दर्शक हलमा गर्वसाथ आउँछन् । चलचित्र बनाउँदा कथा लगायत अन्य जरुरी कुरामा ध्यान नपुर्याउने र चलचित्र प्रदर्शन हुने केही दिनअघि हाम्रो चलचित्र हेर्न हल आउनुस नेपाली चलचित्रलाई माया गरिदिनुस् भनेर व्यापारको लागि बिचमा राष्ट्रियता ल्याउँदैमा नेपाली सिनेमा फष्टाउँदैन ।

प्रतिक्रिया