बंगलादेशमा गार्मेन्ट मजदुर पारिश्रमिक बढाउन माग गर्दै प्रदर्शनमा, एक श्रमिकको मृत्यु

बंगलादेश । बंगलादेशमा हजारौं गार्मेन्ट श्रमिकले न्यूनतम पारिश्रमिक तीन गुणा बढाउन माग गर्दै सोमबार प्रदर्शन गरेका छन् भने सुरक्षा बलसँगको झडपमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बङ्गलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ । तर, देशको ४० लाख कपडा कामदारहरूमध्ये धेरैको अवस्था दयनीय छ ।
प्रहरीका अनुसार देशको सबैभन्दा ठूलो औद्योगिक शहर गाजीपुरमा कम्तीमा १० हजार मजदुरले सिफ्ट छोडेर विरोध प्रदर्शन गरेका छन् भने अन्य सात हजारले आशुलिया र हेमायतपुर क्षेत्रमा विरोध प्रदर्शनमा सहभागी भएका छन् । आशुलिया गार्मेन्ट युनियनका नेता मोहम्मद इब्राहिमले एक लाखभन्दा बढी प्रदर्शनकारी रहेको भन्दै प्रहरीको तथ्याङ्कको खण्डन गरेका छन् । राजधानी ढाकाको उत्तरमा रहेको मेमनसिंह जाने राजमार्गमा भएको प्रहरी र आन्दोलनकारीबीचको झडपमा एक श्रमिकको मृत्यु भएको छ ।
उक्त स्थानमा कम्तीमा चार हजार मजदुर र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा मजदूरले एउटा पिकअप ट्रकमा आगो लगाएको अधिकारीहरूले एएफपीलाई बताएका छन् भने उनीहरूले दिनभर सडक अवरुद्ध गरेका प्रहरीले पुष्टि गरेको छ । ‘झडपका क्रममा एक जना गार्मेन्ट मजदुर घाइते भएका र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको छ,’ गाजीपुरस्थित औद्योगिक प्रहरी एकाइका प्रमुख सरवर आलमले भने ।
प्रहरीका अनुसार प्रदर्शनकारीले झ्याल फुटाउनुका साथै फर्निचरमा क्षति पु¥याउँदा कम्तीमा ४० उद्योगमा क्षति पुगेको छ । बङ्गलादेशको औद्योगिक क्षेत्रका प्रहरी प्रमुख महबुबुर रहमानले एएफपीसँग कुरा गर्दै अधिकारीहरूले विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा समाधान गर्न युनियनका नेताहरूसँग कुराकानी गरिरहेको बताएका छन् ।
बङ्गलादेशमा लगभग तीन हजार ५०० गार्मेन्ट कारखानाहरू छन्, जहाँ विश्वका केही ठूला खुद्रा बिक्रेता र ब्रान्डहरूका लागि कपडाहरू बनाइन्छन् । तर, त्यहाँ काम गर्ने श्रमिकको आधारभूत मासिक ज्याला औसत आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) रहेको छ । देशको सबैभन्दा ठूलो कपडा उत्पादक सङ्घले नयाँ मासिक न्यूनतम आधारभूत ज्यालालाई २५ प्रतिशत वृद्धिको प्रस्ताव गरेपनि श्रमिकहरूले यसलाई तीन गुणा अर्थात् दुई हजार ३०० टाका (२०८ अमेरिकी डलर) पु¥्याउनुपर्ने माग गर्दै सप्ताहन्तमा विरोध प्रदर्शन सुरु गरेका हुन् ।
बंगलादेशमा प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री शेख हसिनाले देशमा मौलाएको भ्रष्टाचार तथा अनियमिततालाई रोक्न नसकेको र विरोधीहरूलाई बल प्रयोग गरी आफूले निर्वाचन जित्ने वातावरण बनाउन खोजेको भन्दै आन्दोलित भएका छन् । श्रमिक आन्दोलन र विपक्षी दलको आन्दोलन एकै समयमा हुनुलाई मजदूर नेताहरूले संयोग मात्र भएको बताएका छन् ।








प्रतिक्रिया