मंगलबार, पुष १, २०८२

गाजा युद्धविराम सम्झौता ‘नजिक’– हमास

नेपालखोज २०८० मंसिर ५ गते ११:४३

गाजापट्टी । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।

‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ’, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् ।

गत महिना हमासको कठोर हमलाका क्रममा बन्धक बनाइएका अधिकांश इजराइली छन् । तिनीहरूमा पनि केही बालबालिका र वृद्धवृद्धा छन् । बन्धक बनाइएकामध्ये केहीलाई मात्र रिहा गरिएको छ । केहीलाई इजराइली स्थल सैनिकले मुक्त गरेका छन् भने केहीको शव बरामद गरिएको छ ।

बाँकीको सटीक ठेगाना थाहा छैन । यद्यपि हमासले गरेको सबैभन्दा घातक हमलाको जवाफमा इजराइलले लगातार बमबारी र स्थल कारबाही सुरु गरेको गाजामा बन्धकहरू रहेको मानिएको छ ।

प्रतिक्रिया