बङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु : बिएनपी

जेनेभा । प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले आगामी जनवरी ७ मा हुन गइरहेको आम निर्वाचनलाई बहिष्कार गरेको छ । उक्त निर्वाचनबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।
बिएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्यालीपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला पाँच सातामा उसको सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ ।
प्रहरीले बिएनपीको गिरफ्तारीको आँकडालाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।
कैदी परिवारका केही सदस्यसहित बिएनपीका केही हजार समर्थकहरू कार्यकर्ताहरूको रिहाइको माग गर्न आइतबार मध्य ढाकामा जम्मा भएका थिए ।
गत महिना न्युयोर्कस्थित ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकहरूलाई गिरफ्तार गरिएको अनुमान गरेको थियो ।
प्रहरीका अनुसार सो र्यालीपछि भएको हिंसामा एक प्रहरी अधिकारी र पाँच सर्वसाधारणको ज्यान गएको तथा करिब तीन सय बसमा आगजनी भएको थियो ।
यद्यपि बिएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० मानिसको ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गत महिना प्रतिबन्ध लगाइएको थियो ।
बिएनपीले पछिल्ला दुई सातामा हिरासतमा आफ्ना पाँच कार्यकर्ताको मृत्यु भएको गणनाा गरेको पार्टीका कानून प्रमुख कैसर कमालले बताए ।








प्रतिक्रिया