इजरायल र हमासबीच पुनः युद्धविरामका प्रयास जारी: प्रधानमन्त्री शेख

गाजा । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायली बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको बताएका छन् ।
प्रधानमन्त्री शेखले दोहा फोरममा भने, ‘कतार राज्यको रूपमा हाम्रा साझेदारहरूसँग हाम्रो प्रयास जारी छ । हामी हार मान्दैनौं । बमबारीको निरन्तरताले हाम्रो वार्ता प्रयासमा जटिलता भने ल्याएको छ ।’
गत अक्टोबर ७ मा भएको आक्रमणमा हमासले एक हजार २०० व्यक्तिको हत्या गर्नुका साथै २४० जनालाई बन्धक बनाएपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको इजरायले जनाएको छ ।
इजरायली आक्रमणका कारण गाजामा कम्तीमा १७ हजार ७०० व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतार वार्तामा एक प्रमुख मध्यस्थकर्ता हो । कतारको निरन्तरको वार्ता र शान्तिको प्रयासको परिणामस्वरूप सात दिनको युद्धविराम भएको थियो । उक्त अवधिमा धेरै इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदी र मानवीय सहायताको आदान–प्रदान भएको छ ।
यसअघि दोहा फोरमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल–हमास द्वन्द्वको समाधानलाई कमजोर पार्ने भू–रणनीतिक विभाजनका कारण सुरक्षा परिषद् पङ्गु भएको बताएका थिए ।
गाजायुद्ध विरामको आह्वान गर्ने प्रस्तावलाई अमेरिकी भिटोले रोकेको दुई दिनपछि उनले युद्धमा ढिलाइ हुँदा उक्त निकायको ‘अधिकार र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पारिएको’ बताएका छन् ।








प्रतिक्रिया