कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या छत्तीस पुग्यो

कोलम्बिया । उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् । यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए ।
राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ । यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गर्नुभएको थियो । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ । पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ ।
कोलम्बियाको प्रशान्त महासागरमा अवस्थित चोको क्षेत्रमा २४ घण्टा भन्दा बढी तीव्र वर्षा पछि पहिरो गएको थियो । प्रशासन कार्यालयले थप पहिरोको उच्च जोखिमबारे चेतावनी दिएको छ ।कार्यालयले बुलेटिनमार्फत् यस क्षेत्रमा जोखिममा रहेका मानिसहरूको जीवन रक्षा गर्न सबै आवश्यक कदम चाल्न आह्वान गरेको छ ।
डिसेम्बर २०२२ मा कोलम्बियाको सोही भागमा भएको भूस्खलनमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने मानिसहरू बस लगायतका अन्य सवारी साधनहरूमा फसेका थिए ।कोलम्बियाको धेरै जसो भाग खडेरीको चपेटामा परेको बेला, मौसमविद्हरूले प्रशान्त क्षेत्रको सिमानामा रहेका धेरै विभागहरूमा भारी वर्षाको जोखिम रहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया