शनिबार, पुष ५, २०८२

इजरायल–हमास युद्ध अन्त्य गर्न कुटनीतिक प्रयासका लागि अमेरिकी विदेशमन्त्री मध्यपूर्वतर्फ प्रस्थान

नेपालखोज २०८० माघ २२ गते १५:०३

गाजा पट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन् ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ पटक यस क्षेत्रको भ्रमण गरेका ब्लिन्केनले साउदी अरब, इजरायल, इजिप्ट र कतारको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

करिब पाँच महिनादेखि जारी युद्धको घेराबन्दीमा परेको क्षेत्रमा विनाशकारी असर परेको भन्दै सहायता समूहहरूले बारम्बार चेतावनी दिएपछि उनले गाजामा मानवीय आवश्यकतालाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘अवस्था अवर्णनीय छ,’ गाजा पट्टीमा रहेको आफ्नो घरबाट भागेर इजिप्टको सिमानामा रहेको दक्षिणी शहर राफामा पुगेका प्यालेस्टाइनी नागरिक हमौदाले भने ।

संयुक्त राष्ट्रसङ्घले ‘निराशाको चरम अवस्था’ को संज्ञा दिएको राफाले अहिले इजरायलको आक्रमणका कारण विस्थापित बनेका गाजाका २४ लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई आश्रय दिएको छ ।

‘तपाईंसँग १० लाख डलर होस् वा सय, तपाईं एउटै अवस्थामा हुन्,’ हमौदाले पैसा भएर पनि अति आवश्यकीय मानवीय सामग्रीको अभावबारे जानकारी दिए ।

सप्ताहन्तमा इजरायलले हमासलाई उन्मूलन गर्ने अभियानअन्तर्गत राफामा आफ्नो जमीनी सेना अघि बढ्न सक्ने चेतावनी दिँदै सीमावर्ती शहरतर्फ थप दक्षिणतिर दबाब दिएको थियो ।

स्रोतहरूले सोमबार बिहान एएफपीलाई बताएअनुसार उनीहरूले पूर्वी राफा र गाजाको मुख्य शहर खान युनिसका क्षेत्रमा गोलाबारीको आवाज सुनेका थिए ।

इजरायलले खान युनिसबाट नै अक्टोबर ७ को आक्रमणका लागि हमासले योजना बनाएको र हमासका उच्च अधिकारीहरू त्यहाँ लुकेर बसेको दावी गरेको छ ।

हमास शासित क्षेत्रमा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि सोमबारसम्म इजरायली आक्रमणमा परी महिला र बालबालिकासहित कम्तीमा १२८ जनाको मृत्यु भएको छ ।

हमासको सरकारी सञ्चार माध्यमका अनुसार गाजाको मध्य भाग र दक्षिणी तटीय क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको छ ।

ब्लिन्केन यस क्षेत्रमा आइपुगेसँगै उहाँले जनवरीमा पेरिसमा भएको अमेरिका, इजरायल, इजिप्ट र कतारी उच्च अधिकारीहरूको बैठकमा प्रस्तावित युद्धविरामबारे छलफल गर्ने अपेक्षा गरिएको छ ।

हमासप्रति ऐक्यवद्धता जनाउन इरान समर्थित समूहहरूले आक्रमण गर्ने क्रम बढेपछि संयुक्त राज्य अमेरिकाले जवाफी हमला गरिरहेको अवस्थामा कूटनीतिक दबाब थप अत्यावश्यक भएको छ ।

हमाससम्वद्ध स्रोतका अनुसार प्रस्तावित छ हप्ताको युद्धविरामले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्धकहरूलाई मुक्त गर्ने उल्लेख छ ।

हमासले अहिलेसम्म कुनै सम्झौता नभएको बताएको छ भने केही इजरायली अधिकारीहरूले कुनै पनि ‘कथित सहुलियत’को विरोध गरेका छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणका कारण करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीले इजरायली अधिकारीबाअट पुष्टि गरेको तथ्याङ्कले देखाएको छ ।

लडाकूहरूले लगभग २५० बन्धकहरूलाई कब्जामा लिएकोमा गाजामा १३२ जना अझै बाँकी रहेको र कम्तीमा २७ जना मारिएको अनुमान इजरायलले गरेको छ ।

हमासलाई समाप्त पार्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलले गाजामा ठूलो सैन्य आक्रमण गरेको र यसबाट कम्तीमा २७ हजार ३६५ जनाको मृत्यु भएको छ जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया