कविता : क्रान्तिकारी
बसन्त बस्नेत
२०८० फागुन ७ गते ९:२१

केवल सत्ता र सरकार बदल्नका निम्ति
सुख चैन छोडेका
हिँडदा हिडदै मरेका
वा गोली लागेका
वा अङ्गभङ्ग भएका
वा बाचेर फर्केका
सबै क्रान्तिकारी हुन भन्छन्
तर क्रान्तिकारी कहिलेकाहीँ
युद्ध क्षेत्र भन्दा
कयौँ माइल टाढा हुन्छन्
ठ्याक्कै भन्दा
भट्टी पसलमा मात चढाइ रहेका हुन्छन्
जनाइ र टुप्पी पालेका त्यी क्रान्तिकारीहरू
घर र समाजको विरोध गर्दै
माझी औँला र चोर औँलाले चुरोट च्याप्दै
तातो तातो बङ्गुरको सेकुवा चपाउने गर्छन्
सबै क्रान्तिकारीहरूले गोली र लट्ठी खादैन्न
बरु कोहीले सत्ता र सरकारको विरोध गरेझैँ
केहीले घर र समाजको विरोध गर्दै
रक्सी सँग सितन खान्छन्।
सम्बन्धित
प्रतिक्रिया